काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकको संविधान र कानुनको बर्खिलाप हुनेगरी चुनाव जिते पनि सर्वोच्च अदालतले खारेज गरेका कारण रिक्त रहेको बहुचर्चित चितवन क्षेत्र नम्बर २, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुककै सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ र त्यसैगरी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा क्षेत्र नम्बर २ मा आइतबार उपनिर्वाचन हुँदैछ । सरकारले पूर्णता नै नपाइरहेको वर्तमान परिप्रेक्ष्यमा गठबन्धनको लोकप्रियता वा अलोकप्रियताको रूपमा भन्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले प्रतिष्ठाको रूपमा तनहुँ र चितवनको चुनावलाई लिइरहँदा गत चुनावबाट अप्रत्याशित र अनपेक्षित रूपमा उदाएको रास्वपाले पनि यसलाई आफ्नो जीवनमरणको प्रश्नको रूपमा लिएको देखिन्छ । तर, चुनावलाई नजिकबाट नियालिरहेका जिल्ला समाचारदाताहरू दुवै क्षेत्रमा कांग्रेस अगाडि रहेको र बारामा पनि गठबन्धनकै उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवकै पल्ला भारी रहेको बताइरहेका छन् ।
परिणामको स्पष्टखाका नकोरिए पनि तनहुँमा नेपाली कांग्रेसका गोविन्द भट्टराई जितको नजिक छन् भने चितवनमा कांग्रेसकै जितनारायण श्रेष्ठ र रास्वपाका अध्यक्ष रवि लामिछानेबीच ‘काँटेकी टक्कर’ अर्थात् शतप्रतिशत प्रतिस्पर्धा छ उता, बारामा गठबन्धनका उम्मेदवार यादव निकै अगाडि रहेको बताइन्छ । यो उपनिर्वाचनलाई गठबन्धनको प्रमुख दल कांग्रेसप्रति जनताको रुझानको परीक्षाको रूपमा लिइएको छ ।
आज हुन लागेको निर्वाचनमा स्थानीय जनताको आस्था र भरोसा नेपाली कांग्रेस र तिनका उम्मेदवारप्रति देखिए पनि विपक्षी उम्मेदवारहरू विभिन्न प्रलोभन देखाएर कांग्रेस मतदातालाई प्रभावित गर्न अन्तिम कसरतमा जुटेका छन् । चितवन २ सहित आइतबार तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, र बारा २ बाट विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति भएका कारण ती क्षेत्रमा उपचुनाव हुन लागेको हो । चितवन र तनहुँमा कांग्रेस उम्मेदवार निर्वाचित हुने निश्चित जस्तै भएको छ भने बारा २ मा पनि सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जित्नेछन् । कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बनाएको छ ।
२०७४ को निर्वाचनबाहेक २०४६ को राजनीतिक परिर्वतनपछिका सबै चुनावमा कांग्रेस उम्मेदवार जित्दै आएको क्षेत्र हो तनहुँ १ । त्यहाँ कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनलाई सत्ता गठबन्धन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थन छ भने भट्टराईसँग प्रतिस्पर्धा गर्न केही समयअघिसम्म कांग्रेसमा रहेर अवसर छोपेका स्वर्णिम वाग्ले र नेपाल प्रहरीको प्रमुख हुने बेलासम्म कांग्रेसकै शरणमा परेका सर्वेन्द्र खनाल मैदान उत्रिएका छन् । कांग्रेसबाट राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष भएका वाग्ले अवसर नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर उम्मेदवार बनेका हुन् ।
कांग्रेसले पार्टीको विभिन्न जिम्मेवारी दिँदै आए पनि पछिल्लो दुई वर्षमा आर्थिक लाभ हुने पद नदिएपछि वाग्ले भौतारिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेका छन् । हिजो पद पाउँदासम्म कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणाको तारिफमा समय खर्चने वाग्ले अहिले उनीहरूलाई नै सराप्दै घण्टी हल्लाउन पुगेका छन् । त्यतिमात्र होइन कांग्रेस सभापति देउवाले ६ दशक लामो राजनीतिमा समेत नबोलेका झुट कुरा बोल्दै र गर्दै चुनावी प्रचारमा जुटेका छन् । त्यसले गर्दा पनि कांग्रेस उम्मेदवार भट्टराईलाई त्यहाँबाट निर्वाचित हुन समस्या नभएको स्थानीयहरू बताउँछन् । त्यस्तै, एमालेले खनाललाई उम्मेदवार बनाएको छ । पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएपछि तनहुँ पुगेका छन् ।
सांसद अपहरण काण्डमा समेत मुछिएका खनाल अवसर छोप्न पछिल्ला दिनमा छेपारोले रंग परिवर्तन गरेजस्तै पार्टी फेर्दै आएका छन् । उनलाई उम्मेदवार बनाएको प्रति एमाले नेता तथा कार्यकर्ता सन्तुष्ट छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले कांग्रेस र एमालेको मत तानेर जित निकाल्न सकिन्छ कि भनेर मनी, मसलदेखिका सबै हथकण्डा अपनाइरहेका छन् ।
मंसिर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले २ हजार ४ सय ८४ मत पाएका थिए । राप्रपा अहिले पनि चुनावी प्रतिस्पर्धामा छ ।
जनतालाई झुटा आश्वासनका साथै पुराना दललाई गाली गर्दै विधि र कानुनको पाठ पढाउँदै मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए । जान्नेलाई छान्ने भन्दै भोट मागेका लामिछाने अमेरिका पलायन हुँदा नेपाली नागरिकता नै त्यागेका रहेछन् । त्यहाँ विभिन्न लफडामा परेपछि फेरि नेपाल आएका उनले कानुनलाई चुनौती दिँदै नागरिकतासम्म पुनः प्राप्त नगरी अरूलाई अर्ती दिँदै हिँडेका थिए । त्यसलाई सत्ता र शक्तिको बलमा ढाकछोप गर्न सरकारमा गएका लामिछानेको नागरिक नलिएको विषयमा सर्वोच्च अदालतले उनका सबै पद खारेज गरिदियो । उनको लहडका कारण चितवनका जनताले दुःख मात्र पाएका छैनन् राज्यकोषबाट ठूलो रकम पनि खर्च भएको छ । त्यसलाई राम्रोसँग बुझेका चितवनका जनताले आज हुने निर्वाचनबाट ‘टुरिस्ट’ उम्मेदवार लामिछानेलाई बिदा गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनमा रहेका अन्य दलको समेत समर्थन पाएका कांग्रेसका जितनारायण श्रेष्ठ निर्वाचित हुने स्थानीयहरू बताउँछन् । एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् भने अन्य दल र स्वतन्त्रबाट पनि उम्मेदवार छन् चितवन २ मा । यसअघिको निर्वाचनमा लामिछानेविरुद्ध चितवन २ का मतदाताले खासै प्रश्न गरेनन् । तर उनकै कारण उपनिर्वाचन हुने अवस्था आएपछि स्थानीय मतदाताले यसमा प्रश्न उठाएका छन् ।
बारा २ मा बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो । अघिल्लो निर्वाचनको मत परिणामलाई आधार बनाउने हो भने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनेमा दुविधा छैन । मंसिरमा भएको संसदीय निर्वाचनमा यिनै शिवचन्द्रप्रसाद कुशवाह कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए । त्यसबेला कुशवाहा जसपाका रामसहायप्रसाद यादवसँग पराजित भए । अहिले पनि जसपा अध्यक्ष उपेन्द्र यादव कुशवाहलाई रोकेर प्रतिनिधिसभामा छिर्ने जनमत पार्टीबाट उम्मेदवार बनेर लागिपरेका छन् ।
एमालेले पार्टी नेता पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश खरेल चुनावी मैदानमा छन् । गत निर्वाचनमा खरेल काठमाडौं १ मा प्रकाशमान सिंहसँग पराजित भएका थिए । आफैं अध्यक्ष भएको सुशासन पार्टीलाई जीवित राख्दै खरेल उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ बाट जसपाका रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मतसहित विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाह (हाल जनमत पार्टीका उम्मेदवार)ले १३ हजार ४ सय ६८ मत पाएका थिए ।
प्रतिक्रिया