देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदनमा उठ्यो युवराज सफललाई कारबाहीको माग

प्रतिनिधिसभाको बुधवारको बैठकमा कस्ले के भने ?

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेस सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएको भन्दै कारबाहीको माग गरेका हुन् । दोहोरो नागरिकताको विषयमा आफ्नो नामसमेत जोडेर सञ्चारमाध्यममा आएकोप्रति पनि बडुले ध्यानाकर्षण गराए । मन्त्रीको जिम्मेवारी सम्हालिसकेको व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए । सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको भनाई राखे । विशेष समयमा सांसद दाहालले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको भनाई राखेका हुन् ।

सांसद दाहालले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरु हुने गरेका भन्दै संविधानको जगमा उभिएर वहस गर्न सांसदहरुको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच उपाय सुझाएकी छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै राणाले सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको र अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने भनाई राखेकी हुन् ।

त्यसैगरी विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको भन्दै शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने सुझाव राखिन् । त्यसैगरी विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने र समग्रतामै सुधार आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।त्यस्तै, सांसद अनिशा नेपालीले बालविकास शिक्षक संगठनले राख्दै आएका माग तत्काल सम्बोधन गर्न माग गरिन् । नेपाल बालविकास शिक्षक संगठनले विभिन्न माग राख्दै आन्दोलन गर्ने र शिक्षामन्त्रीले सम्झौता मात्रै गर्ने तर माग सम्बोधन नहुने अवस्थाले राम्रो संकेत नदेखाएको बताए ।

त्यस्तै सांसद सञ्जयकुमार गौतमले सरकारले देशको उच्च शिक्षामा सुधार गर्नेगरी अहिलेसम्म काम नगरेको बताए । गौतमले नेपालका विश्वविद्यालयहरुप्रति नेपाली विद्यार्थीहरुको आकर्षण घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । गौतमले सरकारले जबरजस्ती गर्दैमा युवा पंक्ति विदेश जानबाट नरोकिने पनि बताए ।

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरित भएको भनाई राखिन् । आकस्मिक समयमा बोल्दै सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताइन् ।
अर्का सांसद सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गरे ।

सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए । राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताए । सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् ।

सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरे । सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बतसँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरे । मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न पनि उन्ले माग गरे । सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताइन् ।

सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षाणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउन माग गरिन् । सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरुप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिए । सांसद जावेगा खातुनले बर्दियाका किसानले सीमा क्षेत्रबाट मलखाद ल्याउँदा समस्या भोग्नुपरेकाले समाधान गर्न सरकारसँग आग्रह गरिन् । बैठकमा सांसदहरु अनिषा नेपाली, किरणकुमार साह, गोमा लाभ सापकोटा लगायतले रोल्पामा विद्युत् कार्य अलपत्र बनेको, जनताको दैनन्दिन जीवनयापनमा समस्या हुँदा पनि तीन तहका सरकारको ध्यान जान नसकेकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको भनाई राखे । विशेष समयमा बोल्दै सांसद सिंहले देश दुर्घटनामा जानुमा चार-पाँच जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने बताए । सिंहले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडी बढाउनुको सट्टा पछाडी धकेलिएको भन्दै हालसम्मका सत्ताले जानि जानि नागरिकता विधेयक पारित नगरेको पनि भनाई राखे ।  सांसद दीपक बहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला दलका नेताले गरेको भ्रष्टाचारका मुद्दाहरुलाई तामेलीमा राखेर काम नगर्ने गरेको बताए ।

विशेष समयमा बोल्दै सांसद सिंहले सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा तल्लो तहका कर्मचारी बाहेक अरुको बयान लिएको आफूले नपाएको उनले बताए । कारबाहीमा खरीदार सुब्बामात्र परेको र योजनाकारहरु एकजनापनि नपरेको उनले बताए । उनले ठूला दलका नेतालाई लागेको भ्रष्टाचारको मुद्दा माफी र तामेलीमा राखेर जाने हो भने यस्तो प्रक्रिया कहिलेसम्म चल्छ भन्दै प्रश्न गरे । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पर्सा राष्ट्रिय निकुञ्जको सिमाना हेरफेर गर्न र मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरे ।

विशेष समयमा बोल्दै सचेतक बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ को मनहरी गाउँपालिका र हेटौँडा नगरपालिका वडा नम्बर १२, १३, १४ र १५ वडा नम्बरमा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कारणले गर्दा निकै लामो समयदेखि त्यहाँका जनताले समस्या भोगिरहेको जानकारी गराए । उनले पर्सा राष्ट्रिय निकुञ्जको हेरफेर र मध्यवर्ती क्षेत्रको खारेजीको विषय त्यहाँका जनताको माग रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गरिन् । विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकि हुन् । मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति उन्को असन्तुष्टि थियो । सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको भनाई राखिन् ।

जलविद्युतको विषय उठान
त्यसैगरी प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक,शुन्य र विशेष समयमा सांसदहरुले जलविद्युतको विषय उठान गरेका छन् । विशेष समयमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण शुरु गर्न सरकारसँग माग गरे । पाण्डेले आयोजना निर्माण शुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई आग्रह गरेका हुन् । त्यस्तै, प्रतिनिधि सभा सांसद इश्वरी घर्तीले नेपालले भारतलाई विद्युत बेच्नु नेपालको लागि गौरवको विषय भएको बताइन । घर्तीले भारतलाई नेपालले विद्युत बेच्दा खुशी हुनुपरे पनि नेपालको रोल्पा जिल्लामा ३० प्रतिशत भन्दा बढी जनताहरु विद्युतको पहँुच भन्दा बाहिर रहेको भन्दै चिन्ता व्यक्त गरिन् ।
त्यस्तै,अर्का सांसद दयालबहादुर शाहीले नेपाल विद्युत कम्पनी लिमिटेडबाट प्रश्तावित मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना तत्काल रोक्न आग्रह गरे । उनले धेरै बस्ती र उर्वरभूमी डुबान गरेर बनाउने जलविद्युत आयोजना आवश्यक नभएको बताए ।
शाहिले सरकारले कर्णाली र सुदूरपश्चिम भनेर हेप्न खाजेको भन्दै वुटवल पावर कम्पनी र सचिवहरुको लापरवाही तत्काल रोक्न माग गरे ।