नेपाल, विश्वका थोरै त्यस्ता अभागी देशको श्रेणीमा पर्छ, जुन असफल राष्ट्र घोषित त भएको छैन तर त्यस दिशामा म्याराथनिक गतिमा अघि बढिरहेको छ । फेल स्टेटका सबै मापदण्ड र सीमा पार गरिसकेर घिटिघिटी अवस्थामा पुगिसके पनि दुई शक्तिशाली छिमेकीका कारण त्यस्तो घोषणा हुनबाट जोगिएको छ । तर त्यो स्थिति, कति दारुण तथा दयनीय अवस्थामा पुगिसकेको रहेछ, त्यो २९ चैत २०७९ को खरीपाटी ब्यारेकको घटनाले लुक्नै नसक्ने गरी खुलस्त हुन पुगेको छ ।
त्यस दिन खरीपाटीस्थित सैनिक प्रतिष्ठानमा आयोजित नितान्त नियमित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री मौजुद हुँदाहुँदै नेपाली राष्ट्रिय सेनालाई पराजित गरेर नौलो जनवादी राज्यव्यवस्था स्थापित गर्न लालसेना खडा गरेर कथित जनयुद्धको घोषणा गर्ने प्रचण्डले १० वर्षमा १७ हजार मानिस मारिसकेपछि भारतको मध्यस्थतामा १२ बुँदे दिल्ली सम्झौता गरेर काठमाडौं फर्केपछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पहिलो पत्रकार सम्मेलन, जसमा देश–विदेशका पत्रकार उपस्थित थिए, त्यसमा उनले नेपाली सेनालाई बलत्कारी, हत्यारा तथा अपराधी सेना भनेर निन्दा र भत्र्सना गरेका थिए– तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई साक्षी राखेर । यद्यपि जुन कोठामा पत्रकार सम्मेलन भएको थियो, त्यो हलमा गिरिजाप्रसाद स्वयं उपस्थित थिएनन्, सिटौला मात्र उपस्थित थिए, तर प्रधानमन्त्री निवासमा सेनामाथि त्यत्ति गम्भीर आरोप लगाउँदा पनि उनले कुनै प्रकारको निन्दा र भत्र्सना नगर्नु भनेको त्यसप्रति सहमति जनाउनु नै थियो । वास्तवमा दिल्ली सम्झौतामा हस्ताक्षरकर्ता कुनै पनि दलका नेताले त्यस घटनाको सशक्त विरोध गरेर सेनाको घाइते स्वाभिमानमा शीतल मलहम लगाउने काम गरेनन् । केही दिनपछि विदेश भ्रमणबाट फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले भने प्रचण्डको त्यस्तो अराजक तथा आतंकवादी अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गरेका थिए ।
त्यसपछि भएको संविधानसभाको पहिलो निर्वाचनमा ठूलो दलका नेताको हैसियतमा प्रचण्डले प्रधानमन्त्रीको पद सम्हालेपछि उनले दुईवटा काम गर्न खोजेका थिए । पहिलो थियो, पशुपतिनाथको मूल पुजारी पदबाट भट्ट थरका दक्षिण भारतीय नागरिकलाई हटाउने प्रयास र दोस्रो हो, सेनाको प्रधानसेनापति पदबाट रुक्मांगद कटुवाललाई हटाएर त्यो स्थानमा आफूलाई सहयोग गर्ने व्यक्तिलाई प्रमोसन गर्ने निर्णय कार्यान्वयन गर्न नसकेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा गर्नु परेको घटना । त्यसपछि विश्वले थाहा पाएको थियो, नेपालमा गणतन्त्र कसका निम्ति आएको रहेछ र मास्टरको पदमा को स्थापित रहेछ ।
यसबीचमा भारतको यमुना नदी र काठमाडौंको बागमतीमा धेरै पानी बगिसकेको भए पनि यमुना र बागमती नदी यथास्थान र स्थितिमा छन् । ती प्रदूषित अवश्य भएका छन् तर प्रवाहहीन भएका छैनन् । तसर्थ प्रचण्ड भविष्यमा फेरि प्रधानमन्त्री हुने हो कि होइन, ठेगान नभएकाले जे गर्नु छ, यसै पटक गरिसक्नुपर्छ भन्ने मनस्थितिमा छन् । त्यही कारण उनले भारतले वास्ता गरोस् कि नगरोस्, आफू भारत भ्रमण गरेर चाकडी गर्न सबै प्रकारले तयार रहेको प्रस्ताव प्रस्तुत गरिसकेका छन् । उनी भारत भ्रमणमा जान कति आतुर रहेछन्, त्यो कुरा, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गृह मन्त्रालय पुगेका भारतीय राजदूत नवीन श्रीवास्तवले उठाउँदै नउठाएको भ्रमणको विषयलाई उनले आफ्नातर्फबाट विषय प्रवेश गराएको प्रसंगले त्यसका पछाडिको वास्तविकता थप पुष्टि हुन पुगेको छ ।
नेपाल, असफल राष्ट्र हुने दिशामा तीव्र गतिमा अग्रसर भइरहेको देखा पर्नु भनेको हाल विद्यमान रहेका मूल प्रवाहका राजनीतिक शक्तिहरूबाट हुने हुनामीलाई रोक्न सक्तैनन् भन्ने तथ्यलाई सकार्नु पनि हो । त्यसका निम्ति अबको अन्तिम विकल्प भनेको सेना मात्र हो भन्ने निष्कर्षमा पुग्नु अर्को दुर्भाग्यपूर्ण स्थिति हो । त्यसका लागि जति भारतको साथ र सहयोग अपरिहार्य छ, नेपाली सेनाको समर्थन पनि उत्तिकै जरुरी छ भन्ने प्रचण्डले नबुझ्ने र बुझेपछि त्यसलाई अनुकूल तुल्याउन जुनसुकै मूल्य चुकाउन तयार भएर जुट्नबाट पछि हट्ने कुरा पनि भएन । त्यो गर्न हरहमेसा तयार रहने व्यक्तिको नाम नै प्रचण्ड हो । उनी आफ्नो लिलाम गराउन यता जति लचिलो छन्, उता पनि उत्तिकै चिप्लो छन् । उनका विगतले आगतको अनुमान लगाउन सबैलाई सघाउँछ ।
हिजो भारतसँग सुरुङ युद्ध गर्न तयार हुने प्रचण्ड १२ बुँदेमा सम्झौतासम्म आइपुग्दा मात्र होइन, राजाका विकल्पमध्ये गिरिजाप्रसाद कोइरालापछिको दोस्रो को हुने भन्ने खोजमा आफैंलाई स्थापित गर्न उनी सफल भएकै हुन् । दुवै लुब्धहरूलाई पन्छाएर जसलाई अघि सारियो, त्यो यथार्थ कसैबाट छिपेको छैन । त्यसैले पनि अहिले प्रचण्ड आफ्नो टाउको माग्न हिँडेका शक्तिप्रति बढी मेहरवान् देखिने गरी सक्रियता बढाउन थालेका छन् ।
प्रजातन्त्र र संसदीय व्यवस्था दुवै माओवादीका निम्ति त्याज्य मात्र होइनन्, ध्वस्त पार्नै पर्ने विचार र चिन्तन हुन् । त्यसमा अरूलाई त भ्रम र द्विविधा छैन भने माओवादीलाई हुने कुरै भएन । तर सत्ताको ग्यालरीमा हरियो घाँस देखेपछि जनवाद स्थापना गर्ने सपना, माओवाद र चीन सबैलाई चटक्कै त्याग्न जसरी प्रचण्ड तयार भए, त्यसैगरी नेपाली सेना र लालसेनाको जम्का भेट ज्यान लिन र दिनबाहेक पनि अरू उद्देश्यका लागि किन सम्भव नहुनु ? अबसेसन भनेकै मन र मस्तिष्क उद्वेलित तुल्याउने मनोरोगको नाम हो । त्यसले जता पनि पु¥याउन सक्छ !
प्रचण्डको दिल्ली दर्शनको दिलफेक मोह, नेपाली सेनाको व्यावसायिकताको अति भक्ति झल्कने तारिफ र परिवर्तन उल्टाउने प्रपञ्चको उट्फट्याङ अभिव्यक्ति र गतिविधिले त्यसैलाई इंगित गरिरहेको छैन र !
प्रतिक्रिया