काठमाडौं । प्रथम मुख्यमन्त्री कप यू–१६ सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिता खेल्न बैतडीको टोली आज अछाम प्रस्थान गरेको छ ।
अछामको साँफेबगरमा रहेको रिडिकोट खेलमैदान जारी प्रतियोगितामा बैतडीको पहिलो खेल आइतबार दार्चुलासँग हुनेछ । प्रतियोगितामा सहभागी प्रदेशका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट शीर्षमा पुग्ने टोलीबीच फाइनल हुने भएको छ ।
फाइनल खेल यहि वैशाख ७ गते हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता खेल्न पाउनेछ । राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभएको छ ।
संघले मलेसियामा हुने १६ वर्ष मुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्येनजर गर्दै जिल्ला र प्रदेश छनोट गर्न निर्देशन दिएको हो ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार उक्त प्रतियोगिता आगामी मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने संघले जनाएको छ ।
प्रतिक्रिया