काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटलाई सहज र र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ ।
आज बिहान पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले जनताको सम्बन्धलाई थप विस्तार र व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
उहाँले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताउनुभयो ।
उहाँले सरकारको नेतृत्व लिएपछि पनि धेरै काम गर्न प्रयास भएको भन्दै केही प्रयास सफल भएको बताउनुभयो ।
सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोलप्रसाद गजुरेललगायतको सहभागिता थियो ।
प्रतिक्रिया