वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका नेपालीले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत उमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भइ काठमाण्डौ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पनि पक्राउ गरेका छ ।
यसैविच अनलाइनमा आइफोन सस्तो मूल्यमा पाइन्छ जस्ता आकर्षक विज्ञापन राखेर ठगी गर्ने गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । हुम्ला घर भइ अहिले भक्तपुर बस्ने शाहीले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत् सम्पर्कमा आएका व्यक्तिलाई मोबाइलको मूल्य, डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी ठगी गर्ने गरेको खुलेको छ ।
उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिका नाममा रहेका बैंक खाता, ई–सेवा तथा खल्ती वालेटमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुझाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया