काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उहाँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उहाँलाई निलम्बन गरेको हो ।
अडियो सार्वजनिक भएपछि अहिलेलाई उहाँलाई एक साताका लागि निलम्बन गरिएको रास्वपा संसदीय दलका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।
अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुने बताउनुभयो ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।
तर यता सांसद श्रेष्ठले आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गर्नुभएको छ ।
श्रेष्ठले भने आफूले प्रसाईंलाई चिन्दै नचिनेको दाबी गर्नुभएको छ । ।
उहाँले आफू मन्त्री बन्ने योजनामा कहिल्यै नभएकाले मन्त्री हुनलाई पैसा माग्यो भन्ने कुरा सरासर झुठो भएको दाबी गर्नुभएको छ ।
उहाँले अडियोमा सुनिएको बोली आफ्नो नभएकोसमेत दाबी गर्नुभएको छ । पार्टीले आफूलाई निलम्बन गरेकोबारे जानकारी नआएको पनि उहाँले बताउनुभएको छ ।
यस बिषयमा आफू जानकार नभएको त्यसबारेमा पार्टी सभापतिसँग कुरा गर्न खोजेको उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया