ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित हुनु भएको छ । गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित हुनु भएको हो ।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिनु भएको थियो । पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।
पाटन क्याम्पसमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । विष्टले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याउनु भएको छ । विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका दिनु भएको थियो ।
प्रतिक्रिया