काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली विरोधीलाई तिखो र छुद्र टिप्पणी गर्न माहिर छन् । उखान टुक्काको प्रयोग गरेर होस् वा कथा हालेर होस् विरोधीलाई वचन बाण हान्न उनलाई उनका समकालीनले भेट्टाउन सक्दैनन् । ओली कहिलेकाहीँ मनगढन्ते अभिव्यक्तिका कारण विवादित र अप्ठ्यारोमा पर्छन् ।
चीनसँग सीमा जोडिएको हिमाली जिल्ला मुस्ताङमा एउटा धार्मिक कलेजको भवन निर्माणका बारेमा केही समयअघि ओलीले कडा शब्दमा सरकारको आलोचना गरे । सरकारले त्यसलाई खण्डन पनि ग¥यो । ओलीले यतिसम्म हावादारी अभिव्यक्ति दिएका रहेछन् कि ओली तथ्यतथ्यमा चुकेका थिए । गण्डकी प्रदेशसभामा एमाले मुस्ताङबाट निर्वाचित पूर्वप्रदेश सांसद इन्द्र विष्ट सम्बद्ध संस्था ‘मुस्ताङ शाक्या बौद्ध संघ’ ले ‘बुद्धिष्ट उच्च विद्यालय (कलेज) को आवश्यकतालाई मध्यनजर गरी स्थापनामा आर्थिक सहयोगका लागि भारतीय राजदूतावाससँग आग्रह गरेको थियो भने एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्ष रिङ्जिन नामगेल गुरुङले भारतीय राजदूतावासमा पत्राचार गरेका थिए ।
ओलीले यो प्रयासलाई ‘विदेशीको खेलमैदान बनाउन खोजेको’ भन्दै अभिव्यक्ति दिएको केही समयपछि मिसन ग्रासरुट अभियानमा मुस्ताङका पुगेका एमालेका अगुवाप्रति नेता कार्यकर्ताहरूले बौद्ध कलेज निर्माण गर्ने विषयलाई लिएर पार्टी अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई लिएर चर्को आलोचना गरे ।
एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पार्टी अध्यक्ष ओलीले मुस्ताङमा यथार्थता र वास्तविकता अध्ययन नगरी बौद्ध कलेज स्थापनाका विषयमा विवादास्पद अभिव्यक्ति दिएकोप्रति रोष प्रकट गरेका थिए ।
वडाध्यक्ष सुरेन्द्र गुरुङले पार्टी नेतृत्वले दिएको अभिव्यक्तिले आफूहरूको भावनामा निकै ठूलो ठेस पुगेको बताए । उनले पार्टी नेतृत्वलाई गल्ती सच्याउन अनुरोध गरे । ओलीले टेलिफोन गरेर त्रुटि भएको स्विकार गरेको कार्यकर्तालाई सुनाइएको थियो ।
यस्तै केही दिनअघि ओलीले गठबन्धन सरकारले सभामुख देवराज घिमिरेमाथि महाभियोग ल्याउन सक्ने बताए । ‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए । तर, पार लागेन । अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि बेर लाउँदैनन् । यिनीहरूसँग २५ प्रतिशतमात्रै होइन बहुमत नै छँदैछ । कुनै लाजशरम छैन । के गर्नुहुन्छ के हुँदैन कुनै सीमा छैन ।’ ओलीले भनेका थिए । सभामुख उनकै खल्तीको भएकाले उनीअनुसार चलाउन चाहन्थे जो सम्भावना अब रहेन गठबन्धन टुटेपछि । त्यसैको त्रास हो उनलाई वा अरू केही कारण हो उनको यस्तो अभिव्यक्ति आउनुमा । सत्ता गठबन्धनका एक नेता भन्छन् सभामुखलाई महाअभियोग लाउनुपर्ने कारण नै छैन । भविष्यमा हुन सक्ने कुरा अहिले अनुमान गर्नु गलत र हावादारी हुन्छ उनले देशान्तरलाई भने ।
यस्तै अर्को गम्भीर विषयमा एमाले अध्यक्ष ओली चिप्लिएका छन् । बाराको उपचुनावका लागि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले राष्ट्रगानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन सरकारसँग माग गरे । उनले माग मात्रै गरेनन् राष्ट्रगानको अपमान पनि गरे ।
उनले भनेका थिए ‘म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रगान अगाडि प्या प्या प्या प्या प्या प्या, ट्या ट्या ट्या ट्या ट्या’ धुन बजाउँछ । ‘सयौं थुंगा फूलका हामी भन्ने भन्दा अगाडिको धुन राष्ट्रगानबाट हटाइनुपर्छ । त्यो राष्ट्रगानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रगानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’
पटकपटक प्रधानमन्त्री भइसकेका ओलीले यही राष्ट्रगान सयौं पटक सुने अनि गाए पनि । तर अहिले सत्ताच्युत भएपछि मात्र उनलाई यो राष्ट्रगानको धुन मन नपर्नुको कारण के हो उनै जानुन् तर उनको अभिव्यक्ति मुलुकी अपराधसंहिता २०७४ को दफा १५१ विपरीत देखिन्छ । राष्ट्रगान र राष्ट्रिय झन्डाको अपमान गरेको ठहर भएमा तीन वर्ष कैद ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
राष्ट्रगान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुनुपर्ने ओलीको कथन थियो । तर ओलीमा अन्य देशको राष्ट्रिय गानबारे अल्पज्ञान देखिन्छ । उनले छिमेकी मुलुक भारतको राष्ट्रगान मात्र सुनेको र त्यसैबाट प्रभावित भएको हुन सक्छ । किनकि भारतको राष्ट्रगान उनले भने जस्तै शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य भएको छ । नेपालको राष्ट्रगानको अगाडि १० सेकेन्डको सुरुवाती धुन छ । चीनकोमा ८ सेकेन्ड अमेरिकाकोमा ३ सेकेन्ड, पाकिस्तानकोमा ४ सेकेन्ड, यूकेकोमा १५ सेकेन्डभन्दा बढी साउदी अरेबियाकोमा १० सेकेन्ड अस्ट्रेलियाकोमा ८ सेकेन्ड र क्यानडा राष्ट्रगानको सुरुमा १५ सेकेन्डको सुरुवाती धुन छ । राष्ट्रगानका संगीतकार अम्बर गुरुङले राष्ट्रगानको शब्द पाएपछि १४ ओटा बेग्लाबेग्लै धुन तयार पारेका थिए ।
२० जना गायक÷गायिकालाई बोलाएर अभ्यास गराएपछि चौधमध्ये तीनवटा धुनलाई छानेर तत्कालीन सरकारलाई बुझाएका थिए । ती तीनमध्ये दोस्रोमा रहेको अहिलेको धुन छनोट भएर अहिलेको राष्ट्रगान बनेको हो । संगीतज्ञ प्रसिद्ध संगीतकार अम्बर गुरुङको निधन भइसकेको छ । ओलीको यो अभिव्यक्तिले निधन भइसकेका एक स्रष्टाको सिर्जनामाथि पनि छेडखानी र अपमान गरेका छन् ।
प्रतिक्रिया