देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासंघमा अञ्जन जित उन्मुख

देशान्तर

काठमाडौं । उद्योगी व्यापारीहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन यसै साताको चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै व्यवसायीहरू माझ चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिस्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् । यसैबीच, वर्तमान वरिष्ठ उपाध्यक्ष ढकालले सर्वसम्मतिको प्रयास गरे पनि यो समाचार तयार पारुन्जेलसम्म त्यसले मूर्तरूप लिन सकेको छैन र तीनै जना उम्मेदवार चुनावतर्फ अग्रसर रहेको बताइन्छ ।

जिल्ला–नगर, वस्तुगत र एसोसिएटसहितका मतदाताहरूको रुझान विश्लेषण गर्दा वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ बलियो देखिएको महाधिवेशनमा सहभागीहरूले देशान्तरलाई बताएका छन् । अञ्जनलाई सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि समर्थन गरेको छ ।  चुनावको दिनसम्म चलखेल र जालझेल नभए श्रेष्ठको जितको सुनिश्चितताको सम्भावना बढी छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षबाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागिसमेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्ववार बनेका छन् । मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एसोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ । अब एसोसिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

बुधवार काठमाडौंमा आफ्नो टिमको औपचारिक रूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै औद्योगिक विकासको लागि पहल गर्ने बताउँदै उम्मेदवार श्रेष्ठले आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढी उद्योगी व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रष्ट पारे । उनले भने ‘साना र मझौला व्यवसायीको समस्यालाई मैले बुझेको छु, यसमा नेतृत्व गरेर समाधान गर्नका लागि मेरो पहल हुन्छ ।’

अर्थतन्त्रमा चुनौतीको कारण तरलताको समस्या रहेको बताउँदै रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै, श्रेष्ठकै समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गीले बैंकको ब्याजदरको विषयमा मौन बस्दा असन्तुष्ट जिल्ला नगरका उद्योगी व्यवसायीहरूको माग सम्बोधन गर्न प्रतिबद्धता जनाए । उनले विगतको जिल्ला नगरबाट उपाध्यक्ष भएर गएको नेतृत्वले काम गर्न नसकेको भन्दै यसपटक मतदातालाई धोका नहुने उल्लेख गरे ।

अञ्जन र उमेशलाल श्रेष्ठको समूहबाट एसोसिएटतर्फका उपाध्यक्षका साझा उम्मेदवार भरत आचार्यले अहिलेको परिस्थितिको सामना गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । उद्योगी व्यवसायीहरूका वर्तमान समस्या समाधान गर्न राज्यसँग सहकार्य र समन्वय गर्न सक्ने क्षमता भएको नेतृत्व आउनुपर्ने बताए । उनले महासंघको आगामी नेतृत्वको लागि सर्वसम्मत गरेर जानुपर्नेमा पहिलेदेखि धारणा रहेको बताए ।

निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता वृद्धि, सफल, सबल र सृदृढ निजी क्षेत्र, घरेलु, साना तथा मझौला उद्योगहरूको विकास, सरकार र निजी क्षेत्रका बीचमा समन्वय र सहकार्य, नीति, नियम र नियमनमा सरकारसँग समन्वय र नेपालको अर्थतन्त्रमा संरचनागत सुधार गर्ने श्रेष्ठ समूहको प्रमुख एजेन्डा रहेका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार मूल नारा तय गरेका छन् । उनले उद्योगी व्यवसायीहरूका समस्याको समाधान गरी व्यवसायीहरूको हकहितमा निरन्तर लाग्ने बताउँदै आफूले उम्मेदवारी दिएको बताए ।
वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले संकटमा रहेको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।