काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताएका छन् । शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए । उनले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए ।
प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याने पक्षमा रहेको बताए ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताए । उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए ।अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानैपर्ने बताए ।
प्रतिक्रिया