देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण माग

चितवन- २ काे उम्मेदवारी कायम

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण माग गरेकाे छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार  लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।यसअघि चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए।

अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए ।लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी लिई अमेरिका गएका थिए ।

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी भने कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएका थिए ।निर्वाचन अधिकृतको कार्यालय भरतपुरले उनको उम्मेदवारी कायमै भएकाे जनाएकाे हाे ।नयाँ नागरिकता लिएकाे ३ महिना नपुग्दै चितवन–२ मा पुनः उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो ।