देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।

लामिछाने नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको हो ।

यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गर्नुभएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उहाँमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गर्नुभएको थियो ।

नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो ।

त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी अधिवक्ता सफलले गर्नुभएको थियो ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।

अदालतको आदेशपछि उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिनुभएको थियो । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उहाँविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको हो ।