काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि परेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको मुद्दा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको छ ।
यो मुद्दा नवौं नम्बरमा छ । अधिवक्ता युवराज पौडेल (सफल) ले सोमबार दायर गर्नुभएको रिटमा न्यायाधीश सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले यही चैत ६ गते लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरी, काठमाडौं सरकारी वकिल कार्यालय र पाटन उच्च सरकारी वकिल कार्यालयको सिफारिसलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेको थियो ।
अदालतको आदेशपछि रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिनु भएको थियो । तर, पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उहाँविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको हो ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उहाँमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराजले सोमबार रिट दायर गर्नु भएको थियो ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।
प्रतिक्रिया