काठमाडौं । रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साह पक्राउ परेका हुन् ।
मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनी गरुडा नगरपालिका–६ का हुन् ।
पक्राउ परेका नक्कली परीक्षार्थी साह मेयर कानुको नातामा ज्वाइँ पर्ने बुझिएको छ । उनी इन्जिनिरसमेत हुन् ।
मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने बताउनुभयो ।
प्रतिक्रिया