देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लौ तोप पड्क्यो: कति बजेको ?


आप दिवार गिराने आए थे
आप दिवार उठाने लगे,
ये तो हद है !
कालजयी माथिका पंक्ति हुन्– प्रख्यात् गजलकार दुश्यन्त कुमारका । आज उनी जीवित हुन्थे भने नेपाली राजनीतिमा उनका गजल, कति असरदार मात्र होइनन्, जीवन्त पनि हुन पुगेका रहेछन्, त्यसको दर्शन आफैंले गर्न पाउने थिए ।
भारत सरकारले माओवादीलाई अहिले पनि आतंकवादी नै मानेको छ र आन्तरिक सुरक्षाका निम्ति त्यसलाई सबैभन्दा ठूलो चुनौजी ठहर गरेको छ । त्यो किनभने माओवादीले संसदीय प्रजातन्त्रको अन्त्य र नौलो जनवादी राज्यव्यवस्थाको स्थापनाका लागि सशस्त्र जनयुद्ध जारी राखेका छन् । सरकारले पनि माओवादीलाई दमन गरिछाड्ने, कुनै हालतमा सफल हुन नदिने संकल्पमा फेरबदल गरेको छैन ।

नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, जो भारतकै माओवादीबाट प्रेरणा, शिक्षा–दीक्षा तथा तालिम प्राप्त गरेर १० वर्ष लामो जनयुद्ध सञ्चालन गरेर १७ हजार नेपालीको हत्याको आरोप झेलेका व्यक्ति मात्र होइनन्, हेगको अन्तर्राष्ट्रिय अदालतमा कारबाहीका लागि नाम पुगिसकेका लडाकु पनि हुन्, उनैलाई भारतले आतंककारीबाट लोकतन्त्रवादी तुल्याउने चमत्कारिक चिप्स चिप्काइदिएकाले अहिले उनी नेपालका लागि आपद् र भारतका लागि भालुको कम्पट बन्न पुगेका हुन् ।

भालुको कम्पट भनेको छाडे पनि झम्टने र नछोड्ने हो भने कति बेर समातिराख्ने भन्ने दुविधामा पर्न पुग्नुको नियति हो, जसलाई नेपाल र भारत दुवैले एकसाथ झेल्नु परेको छ ।
भारतले नेपाली माओवादीका निधारबाट आतंकवादीको कलंक मेटिदिन उसलाई सत्तामा सवार गराए पनि उसले भारतको विरोध गर्न मात्र होइन, प्रतिक्रियावादी तथा विस्तारवादी भन्न छाडेको छैन । त्यस्तो अपजस, उसले नेपालका प्रजातन्त्रवादीबाट त खेप्नै परेको छ, अमेरिका तथा अन्य स्वतन्त्र संघसंस्थाबाट पनि व्यहोर्न परेको छ । अर्थात् आप दिवार गिराने आएथे, आप दिवार उठाने लगे, ये तो हद है ! सबैका कण्ठसम्म आएर अड्किने वाक्य त्यही हो ।
नेपाल, २००७ सालको क्रान्तिदेखि यता जुन राजनीतिक अस्थिरताको भुमरीमा पर्न पुगेको छ, त्यसका निम्ति पहिले दिल्ली र नारायणहिटी दरवारलाई दोष लगाउने गरिन्थ्यो । तर १२ बुँदे दिल्ली सम्झौताअनुसार गणतन्त्र बहाल भएपछि पनि अस्थिरताको अन्त्य हुनुको बदला झन् चर्केर गएको छ । सबैको शंका भारततिर तेर्सिनु पुग्नुको कारण त्यही हो । घटनाक्रमले पुष्टि गरेको सत्य पनि त्यही हो ।

चीन र अमेरिकाले पनि हाम्रो आन्तरिक राजनीतिमा अभिरुचि अवश्य राख्ने गरेका छन् । तर जुन माइक्रो लेवलमा भारतले खेल्ने र खेलाउने गर्दै आएको छ, त्यो स्तरमा चीन र अमेरिकाको भने चलखेल देखिँदैन । खुल्लमखुल्ला प्यार करेंगे हम दोनो ! हिन्दी सिनेमाको गीत हो । त्यो खुला सीमाको दुवैतिर उत्तिकै बज्छ । त्यसका लागि सुरुङमार्गको आवश्यकता पर्दैन ।

पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि भनेका छन्– अब नेपालले फड्को मार्छ । उनले जुन फड्को २०५२ सालमा मारेका थिए, त्यो प्रजातन्त्र ध्वस्त पारेर त्यही ध्वंशमा चीनको जस्तै जनवादी राज्यव्यवस्था स्थापना गर्न लगाएका थिए । २०६२ सालमा १२ बुँदे दिल्ली सम्झौता गरेपछि चीनको जनवाद परित्याग गरेर भारतको लोकतन्त्र नेपाल भित्र्याउन पुगेका थिए । अबको फड्कोले लोकतन्त्रबाट फेरि जनवादतर्फ छलाङ् लगाउने हो कि हेग प्रस्थानको मार्ग थप प्रशस्त हुने हो, त्यो भने हेर्न बाँकी छ ।

नेपालमा जुनबेला राणाकाल थियो, त्यसबेला दिनमा दुई पटक अर्थात् दिउँसो १२ बजे र रातको १२ बजे टुँडिखेलबाट तोप पड्कन्थ्यो । दिउँसोको तोप, सरकारी अड्डाखानामा काम गर्ने कर्मचारी तथा काम गराउन आउनेलाई समयको बोध गराएर छिटो छरितो गर्न सहयोग पु¥याउँथ्यो भने रातको तोपले कर्फ्युको काम गथ्र्यो । त्यस उप्रान्त बिनापूर्जी कसैले हिँडडुल गर्न पाउँदैनथे । त्यही चेतावनी दिन रातको तोप पड्काउने चलन चलेको थियो ।

aसुवास तथा सैदर्यहीन पुष्पकमलको तोप पनि फेरि चलेको छ– इतिहासमा अहिलेसम्म नभएको काम, विगत तीन महिनामा सम्पन्न भएको घोषणा गरेर । मानिसहरू यताउता हेर्छन्, कतै केही देख्दैनन् । सत्ता गठवन्धनको निर्लज्ज फेरबदल, मन्त्री पदको घोर अवमूल्यन, राजनीतिको अपराधीकरण, मिटरव्याजी पीडितको क्रन्दन, बेलगाम महँगीको मैमत्तापन र माओवादीको हेग जाने त्रासबाहेक नयाँ भन्नु केही छैन । त्यही खालिपनलाई ऐतिहासिक उपलब्धि मान्नु भनेको आत्मरतिमा रमाउनु हो । भनिरहन परोइन, त्यो स्वस्थ मनस्थितिको द्योतक होइन ।