काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले उम्मेदवार बनाउने घोषणा गरेको हो ।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित हुनुभएको थियो । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उहाँको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठ्नुभएको थियो । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लाग्नुभएको हो ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।
प्रतिक्रिया