काठमाडौं । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ ।
अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ ।
भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।
भारतबाट भाउ बढेर आउने बित्तिकै नेपालमा पनि बढाइहाल्ने तर पटक पटक भाउ घटेर आउँदा समेत नेपालमा पुरानै भाउमा पेट्रोलियम पदार्थ बेचेर ठगेको भन्दै उपभोक्ता आक्रोशित छन् । पछिल्लो समय भारतले रुससँग सस्तो मूल्यमा तेल किनेका कारण नेपालमा पठाउने तेलमा पनि भाउ घटाइरहेको छ ।
प्रतिक्रिया