देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा सहभागिताको भागबन्डामा असन्तुष्टि देखिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

देशान्तर

काठमाडौं । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गरी भोली बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । मन्त्री बन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । आठ मन्त्रालय भाग पाएको कांग्रेसले विवादकै कारण चार जना मात्रै सरकारमा पठाएको छ ।

आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । इतर समूह तीन मन्त्रालय पाउनुपर्ने अडानमा छ । तर सभापति शेरबहादुर देउवा इतर समूहलाई दुई मन्त्रालय मात्रै दिने पक्षमा छन् ।

बैठकमा बारा– २ मा हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पनि छलफल हुनेछ । कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।