देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् विस्तार

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरी विस्तार गर्नु भएको छ । आज प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेत मन्त्री बनेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ मन्त्रीको सूची बुझाएको भनिए पनि राष्ट्रपति कार्यालयले भने सूची सार्वजनिक गरेको छैन । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार आजै राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण कार्यक्रम रहेको छ ।