देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक रोजगारजीमा रहेका नेपालीले आजदेखि टेलिमेडिसिन सेवा पाउने

देशान्तर

काठमाडौं । वैदेशिक रोजगारजीमा रहेका नेपालीले आजदेखि टेलिमेडिसिन सेवा पाउने भएका छन् ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले आजदेखि विदेशमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न टेलिमेडिसिन सेवा सुरू गरेको हो ।

स्वास्थ्य सम्बन्धी समस्या रहेका नेपालीका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा उपलब्ध गराउन थालेको हो ।

बोर्डका प्रवक्ता राजन पौडेलले आजदेखि विभिन्न देशमा रहेका नेपाली श्रमिकमा हुने स्वास्थ्य समस्या समाधानका लागि आवश्यक सुुझाव सल्लाह दिन टेलिमेडिसिन सेवा सुरू गरिएको बताए ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल, भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्ने प्रवक्ता पौडेलले बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमा थुप्रै खालका स्वास्थ्य समस्या देखिने गरेका छन् । उनीहरूले समयमै स्वास्थ्य परामर्श तथा उपचार नपाउँदा निकै गम्भीर बन्ने गरेको देखिन्छ । त्यही समस्या समयमै समाधान गर्नका लागि बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरि बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतवार र शुक्रवार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।

विशेषतः आइतवार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिनुहुने श्रमिकको प्रेस्कृप्सन अनलाइन मार्फत उपलब्ध गराउनेछ । यसको सम्पूर्ण खर्च वैदेशिक रोजगार वोर्डले नै व्यहोर्ने भएकाले यो सेवा पूर्णतः निशुल्क रहनेछ । त्यसका लागि वीर अस्पतालसँग बोर्डले सम्झौता गरेको छ ।