सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने भएका छन् । गएराति खुलामञ्च अगाडि रात कटाएका पिडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने तयारि गरेका हुन् ।
हिजो प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरू रातभर सडकपेटीमै बस्न बाध्य भएका हुन् । उनीहरुले हिजो खुलामञ्चको गेट अगाडि प्रदर्शन समेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि आइतवार बिहान उनीहरु काठमाण्डौ आइपुगेका हुन् ।
सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । न्याय खोज्दै ७२ जना पीडित पैदल हिँडेर काठमाण्डौ आएका हुन् । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए ।
गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो ।
प्रतिक्रिया