काठमाडौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ ।
यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।
उनका अनुसार अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे । भारतको उत्तरप्रदेशमा सङ्क्रमण बढिरहेको छ ।
भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।
भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए । भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।
प्रतिक्रिया