देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला आइपीएलको उपाधि मुम्बइलाई

देशान्तर

महिला संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

गयराति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले पहिलो संस्करणकै उपाधि हात पारेको हो ।

दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर १३४ रन बनाउँदै पूरा गरेको थियो ।

इंग्ल्याण्डकी अनुभवी खेलाडी नताली सिभर ब्रन्टले मुम्बईलाई च्याम्पियन बनाइन् ।

उनले दबाबमा यादगार इनिङ खेलिन् ।

नतालीले ५५ बलमा अविजित ६० रन बनाइन् । मुम्बई फ्रेन्चाइजको खातामा यो छैटौं ट्रफी हो ।

मुम्बईको पुरुष टोली आईपीएलमा पाँच पटक च्याम्पियन बनेको छ ।

नतालीले अमेलिया केरसँग चौथो विकेटका लागि २० बलमा अविजित ३९ रनको साझेदारी गरिन् ।

अमेलिया केर आठ बलमा १४ रनमा अविजित रहिन् । नतालीले यसअघि तेस्रो विकेटका लागि कप्तान हरमनप्रीत कौरसँग ७४ बलमा ७२ रनको साझेदारी गरेकी थिइन् ।

हरमनप्रीत ३९ बलमा ३७ रन बनाएर आउट भइन् । हिली म्याथ्युजले १३ र यास्तिका भाटियाले चार रन बनाएका थिए । दिल्लीका लागि राधा यादव र जेस जोनासेनले एक–एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीको सुरुवात निकै खराब रह्यो । शेफाली वर्मा दोस्रो ओभरमा नै ११ रन बनाएर आउट भइन् । त्यसको दुई बलपछि एलिस क्याप्सी पनि खाता नखोल्दै प्याभिलियन फर्किइन् ।

फुल टस बलमा इस्सी वोङले दुवै विकेट लिइन् । त्यसपछि कप्तान ल्यानिङले जेमिमा रोड्रिग्जसँग मिलेर इनिङ सम्हालेका थिए । तर पाँचौं ओभरमा वोङको फुल टसमा जेमिमा पनि ९ रनमा आउट भइन् ।

पावरप्लेमा दिल्लीको टोलीले तीन विकेट गुमाएर ३८ रन मात्र बनाउन सक्यो । यसपछि ल्यानिङ र मारिजन क्यापको अनुभवी जोडीले ३८ रनको साझेदारी गरे पनि क्याप १८ रन बनाएर अमेलिया केरको शिकार बनिन् ।

त्यस समयमा दिल्लीको स्कोर ७३ रन थियो । यसपछि दिल्लीले ६ रनमा पाँच विकेट गुमाउँदा टोलीको स्कोर १५.६ ओभरमा ९ विकेट गुमाएर ७९ रन पुगेको थियो ।
क्याप आउट भएपछि कप्तान ल्यानिङ ३५ रनमा रनआउट भए र फर्किनेबित्तिकै सम्पूर्ण टोली दबाबमा परेको थियो । सबै ब्याटरले गलत शट खेल्दै विकेट गुमाएका थिए र टिम संकटमा परेको थियो ।

एक समय दिल्लीको टोलीले १०० रन पनि बनाउन नसक्ने देखिएको थियो ।

तर शिखा पाण्डे र राधा यादवले अन्तिम विकेटका लागि अविजित ५२ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई फाइटिङ स्कोरमा पु¥याएका थिए । शिखा पाण्डेले १७ बलमा २७ रन र राधा यादवले १२ बलमा २७ रन जोडिन् । दिल्लीको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाउन सफल भयो ।

मुम्बई इन्डियन्सका लागि इस्सी वोङ र हेली म्याथ्युजले सर्वाधिक ३–३ विकेट लिए । तर, वोङले पनि चार ओभरमा ४२ रन दिए । योसँगै म्याथ्युजले चार ओभरमा पाँच रन मात्र दिए र दुई मेडन ओभर गरिन् । वोङले दिल्लीको शीर्ष क्रमलाई ध्वस्त पारिन्, जबकि म्याथ्युजले तल्लो अर्डरलाई पभेलियन फर्काइन् । यी दुई बाहेक अमेलिया कारले पनि दुई महत्वपूर्ण विकेट लिइन् । दिल्लीकी कप्तान ल्यानिङ रनआउट भइन् ।