काठमाडौं– नेपालमा मातृ मृत्युमा सुधार आएको देखिएको छ । शुक्रबार सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको छ ।
जनगणना २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले संयुक्त रूपमा गरेको अध्ययनले पाँच वर्षअघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको थियो ।
जनगणनासँगै योपटक सार्वजनिक भएको जनगणना प्रतिवेदनले मातृ मृत्युका हाल एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो ।
प्रजनन उमेर समूहका १५–४९ वर्षका १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको समेत देखाएको छ ।
मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्युदर १५१ जना प्रति लाख जीवित जन्ममा रहेको नतिजाले देखाएको हो ।
गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ ।
प्रतिक्रिया