काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।
उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए ।
उनले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन नलाग्ने बताए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।
विगतमा आरजू राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गरे । उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया