देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना आजबाट सुरु

देशान्तर

काठमाडौं । श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । यो योजनाको काठमाडौंमा आज आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो ।

श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिने सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले जानकारी दिनुभएको छ ।

त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने डा. जोशीले जानकारी दिनुभएको छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ र यो चौबिसै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ । गैरआवासीय नेपाली संघ.एनआरएनए) अध्यक्ष कुल आचार्यले यो योजनाका लागि आफूहरुले पहल गर्दै आएको र अहिले पूरा भएको भन्दै योभन्दा खुसीको क्षण अरु हुनै नसक्ने बताउनुभएको छ ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ ।

कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गर्नुभएको हो । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पत्रकार गोपाल संग्रौलाकी विदेशमा रहेकी श्रीमतीको सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण समेत गर्नुभएको थियो ।