काठमाडौं– रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो । त्यो निर्णय रोक्दै सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उक्त निर्णयको सडक र सदन सबैतर्फबाट सरकारलाई चौतर्फी दबाब आएपछि सरकार निर्णय फिर्ता गर्न बाध्य भएको हो । रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विभिन्न राजनीतिक दलका किसान संगठनहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए ।
त्यस्तै, आइतबारको संसद् बैठकमा समेत प्रमुख प्रतिपक्ष दलहरू तथा विभिन्न सांसदहरूले सरकारले मलमा अनुदान कटौती गरेको विषयमा चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया