काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी २ मा पराजित जसपा अध्यक्ष उपेन्द्र यादव जसरी पनि संघीय संसद्मा प्रवेश गर्ने रहेको छ । सीके राउतसँग पराजित भएका उपेन्द्र संसद् प्रवेशको यात्रा नयाँ सत्तारूढ गठबन्धनमा लागेपछि पूरा हुन्छ भनेर बुझेका पनि छन् । तर, उनी आबद्ध भएको गठबन्धनमा उनैलाई हराएका सीके राउतको पार्टी जनमत पार्टी पनि रहेको छ । मंसिर ४ को चुनाव अघि कांग्रेस माओवादीको गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेका थिए । तर, त्यो तालमेल पनि उनलाई नफाप्दा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए ।
पराजित भएलगत्तै एमालेसँग गठबन्धन सकिएको घोषणा गरेका उपेन्द्र काठमाडौं आइसकेपछि पुस १० मा प्रचण्डले एमालेको साथ लिएर सरकार बनाउँदा सत्तारूढ गठबन्धनमा आबद्ध भए । तर, अहिले नयाँ समीकरण बनाउन उनी पनि लागेका थिए र समीकरणअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सफलता पनि हासिल भएको छ । उपराष्ट्रपतिमा जसपाकै संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार मात्रै बनाएनन् गठबन्धन भएका कारण सहजै जित पनि दिलाए । अब उनको क्षेत्रमा उपनिर्वाचन हुने पक्का छ । बारा २ चुनाव हुँदा गठबन्धनबाट उपेन्द्र उम्मेदवार बन्ने पक्का भए पनि यही गठबन्धनमा रहेको जनमत पार्टीले मान्छ या मान्दैन त्यो भने पछि नै तय हुने छ । उपराष्ट्रपतिको चुनावमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाएर त्यसको छनक दिइसकेकाले पनि उपेन्द्रलाई उप निर्वाचन सहजै जित्छन् भन्ने आधार भने देखिएको छैन ।
विगतमा आफूलाई मधेसको मसिहा ठान्ने उपेन्द्र यादव २०६४ सालपछि नेपाली राजनीतिमा उदाएका हुन् । उनले मधेसको हकहितका लागि संघर्ष गरे पनि उपलव्धिहरू संस्थागत नहुँदै उनको पार्टी टुटफुट र फोहोरी सत्ता राजनीतिको खेलमा लाग्दा अहिले सानो आकारमा खुम्चिएको छ । र विगतमा भूमिगत संघर्ष गरेका सिके राउत खुला राजनीतिमा आएपछि उनले मधेसमा आफ्नो पकड विस्तार गर्ने र उपेन्द्रलाई खुम्च्याउने नीति लिएका कारण मधेसको शक्ति को बन्ने होडवाजी नै चलेका बेला वैशाख १० मा हुने उपनिर्वाचन फेरि एक पटक परीक्षाको रूपमा रहने पक्का छ ।
आमनिर्वाचनका बेला उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस नै गरेको भए पनि, उनले सप्तरी २ रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लड्ने बताइए पनि, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्ने’ छलफल नै नभएको दावी गर्छन् । यसअघि मंसिर ४ को चुनावमा बारा २ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले राम्रो मत ल्याएका थिए । उनी अहिले सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने चर्चा पनि चलिरहेको छ भने उपनिर्वाचनमा रामकिशोरले पुनः उम्मेदवारी दिनेगरी आन्तरिक तयारी गरिरहेको पनि बुझिएको छ । जनमत पार्टीले उनलाई उम्मेदवार नबनाएको अवस्थामा पुनः स्वतन्त्र रूपमा उम्मेदवार हुने उनी निकटका नेताहरूले बताएकाले उपेन्द्रका लागि अवस्था त्यति सहज नभएको त्यस क्षेत्रकै नेताहरू पनि बताउने गर्छन् ।
प्रतिक्रिया