देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपति यादवको शपथ सोमबार हुने

देशान्तर

काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ । शुक्रबार उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको प्रतिवेदन आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको परिणाम सहितको प्रतिवेदन आज पेश गर्न लागिएको हो ।

रामसहाय यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ गरी कूल ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् । यस्तै जनमतकी ममता झाले २ हजार ५३७ र प्रमिला यादवले ४८ मत प्राप्त गरेकी थिइन् ।