देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा सहभागी हुने कांग्रेसको औपचारिक निर्णय

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा। प्रकाशरण महतले जानकारी दिए । डा। महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आजको बैठकले मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ ।

यो निर्णयसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।

सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।

राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।