काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाए बहालवाला र बन्ने लाइनमा लागेका प्रधानमन्त्रीले भन्दा सतप्रतिशत राम्रो काम गर्न सक्ने आफूमा आत्माविश्वास भएको बताएका छन् । शुक्रबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले सरकारको नेतृत्व गर्न चाहेको भन्दै मन्त्री बन्न सरकारमा नजाने बताए ।
“मैले सरकारको लिड गर्न चाहेको हो नि । पार्टीका साथीहरुले संसदीय दलमा पत्याउनु भएको भए कांग्रेसको नेतृत्व गर्दै म प्रधानमन्त्री नै बन्ने थिए नि,” उनले भने, “लिड गर्ने चाहना नभएको वा आत्मविश्वास नभएको भन्ने हुँदै होइन । अहिले पनि म गठबन्धनमा रहनुभएका नेताहरु प्रधानमन्त्री बन्नुभएको र प्रधानमन्त्री बन्न क्रमवद्ध रुपमा रहनुभएको नेताहरूभन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्छु भन्ने सतप्रतिशत आत्मविश्वास छ र सक्छु पनि । तर, मैले दलभित्र परिणाम पाउन सकिनँ” उनले भने ।
पार्टीबाट अन्य सांसदहरु मन्त्री बन्ने भन्दै उनले सरकार बन्नु नौलो कुरा नभएकाले त्यसले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए ।
दलहरूमा मन्त्रालय लिन हुने रस्साकस्सी परिणाम दिने समयमा पनि हुनुपर्ने बताए ।
प्रतिक्रिया