देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मञ्जु अन्सारी जसपाबाट समानुपातिक सांसद सिफारिस

देशान्तर

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले मञ्जु शर्मा (अन्सारी)लाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । बिहीबार ललितपुरको बालकुमारीस्थित केन्द्र्रिय कार्यालयमा बसेको सो पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको सो पदमा अन्सारीलाई नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

अन्सारी सो पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचिको दोस्रो बरियतामा रहेकी थिइन् । प्रवक्ता सुमनले भने, ‘जनता समाजवादी पार्टी नेपालको आज सम्पन्न कार्यकारिणी समितिको बैठकले पार्टीको समानुपातिक सूचिबाट प्रतिनिधिसभामा निर्वाचित माननीय सहनाज सहमानजीको असामयिक निधन पश्चात रिक्त पदको बारेमा निर्वाचन आयोगको पत्र अनुसार निर्णय गर्नुपर्ने थियो । र, सोही अनुसार आज निर्धारित समय भित्र हामीले सहनाज रहमान रहनु भएको मुस्लिम समुदायबाट बरियताक्रममा दोस्रो पार्टीका उम्मेदवार मञ्जु शर्मा अन्सारीलाई प्रतिनिधिसभाको सदस्य पदमा समानुपातिक सूचिबाट बनाइयोस् भनेर आज हामीले सिफारिस पत्र पठाउने निर्णय गरेका छौं । उपराष्ट्रपति निर्वाचनको बारेमा पनि आजको बैठकमा सामान्य छलफल भयो । सबै साथीहरुले उपराष्टपतिका्े उम्मेदवारलाई विजयी गराउनका लागि आआफ्नो ठाउँबाट प्रयास गर्ने चर्चा पनि भयो ।’

निर्वाचन आयोगले सांसद रहमानको निधनपछि जनता समाजवादी पार्टीलाई अर्को सांसद सिफारिस गर्न पत्राचार गरेको थियो । बैठकमा नेताहरुले उपराष्ट्रपति निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । सो पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ ।