काठमाडौं– नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गरेका हुन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गरे । ‘महासचिवज्यूलाई सम्बोधन गरेर पत्र आएको छ। उहाँ (महासचिव) बाहिर भएकाले पत्र हेर्न पाएका छैनौं,’ उनले भने ।
गत फागुन १५ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो ।
यसअघि नेपाली कांग्रेसले विपक्षी दलको मान्यता दिन माग गर्दै आइरहेको थियो । तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सचिवालयले औपचारिक रुपमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको थिएन ।
यद्यपी कांग्रेस प्रतिनिधिसभा बैठकमा विपक्षी दलको बेञ्चमा बस्दै आइरहेको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल विपक्षी नहुने भएकाले आफूलाई मान्यता दिन नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले माग गर्दै आइरहेका थिए ।
प्रतिक्रिया