देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वमन्त्री न्यौपानेले रुँदै भने: सुकुम्बासी हुँ, २ करोड बिगो कहाँबाट तिरौं ?

'जनताले चन्दा नदिए जरिबाना तिर्न सक्दिनँ'

देशान्तर

काठमाडौं– पूर्वमन्त्री बद्री न्यौपानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले साढे ९ वर्ष कैद सजाय सुनाएका न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गर्दै आफू निर्दोष रहेकाले सफाइ पाउनुपर्ने बताएका हुन्।

उनले आफ्नो कार्यकालका सबैलाई झूटो मुद्दा हालेर फसाइएको दाबी गरे । ‘मलगायत त्यस वेलाका सबै कार्यसमिति, ठेकदार निर्दोष रहेको छौं। वारेसलाई मुद्दा लगाइएको छ। आजसम्म नेपाल-भारतलगायत कुनै पनि देशमा वारेसलाई मुद्दा र बिगो लगाएको कानुन र इतिहास छैन । टेकबहादुर वारेस हुन् । उनका भाइ रवीन्द्रलाई लाग्नु स्वभाविक हुनसक्ला तर वारेस र कानुनी राय दिनेलाई समेत मुद्दा लगाइयो’‚ उनले भने ।

न्यौपानेले फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालत जान आफूसँग एक रुपैयाँ पनि नभएको दाबी गरे । पत्रकार सम्मेलनमा भावुक बनेका उनले जनताले सहयोग गरे आफू फैसला पुनरावलोकनका लागि अदालत जाने बताए ।

फैसलाको पूर्णपाठ आएको ३५ दिनभित्र आफूलाई अदालतले गरेको फैसला चित्त नबुझे त्योभन्दा माथिल्लो निकाय सर्वोच्चमा पुनरावलोकनका लागि जान पाउने व्यवस्था छ ।

‘पूर्णपाठ आएको ३५ दिनभित्र म जानुपर्छ । म सम्मानित अदालतमा न्यायका लागि जान्छु तर मसँग् पैसा हुनुपर्‍यो नि ! कसैले माया गरे, जग्गा दिए । सहयोग गरे म जान्छु तर मसँग भएन भने मैले कहाँबाट ल्याउनु? त्यत्रो पैसाको बिगो (२ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा ) मैले कहाँबाट तिरौं? कहाँ धरौटी राखौं? मसँग के छर? सडकमा बसेको सुकुमवासी मान्छे मेरो केही उपाय छैन । बद्रीलाई अन्याय भएको छ भनेर नेपाली जनताले सहयोग गरे जाने हो । नत्र म कहाँबाट जाने?’‚ रुँदै उनले प्रश्न गरे ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको थियो ।

न्यौपानेबाट जरिवाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ । न्यौपाने तत्कालीन माओवादी नेता डा।बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए। त्यति वेला उनी चुरे भावर पार्टीबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका थिए ।

मन्त्री पदमा रहँदा न्यौपानले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको ठहर विशेष अदालतले गरेको हो । फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसै मुद्दामा कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् ।

उनलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । बिहीबार विशेष अदालतले पूर्वमन्त्री न्यौपाने, निलम्बित सांसद गुरुङसहित नौजनालाई यो मुद्दामा दोषी ठहर गरेको हो ।