काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताएका छन् ।
सोमवार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेकोमा आफू खुशी भएको बताए।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरुमा फरकफरक राजनीतिक दलहरुको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुशी र गर्वको महशुस गराएको बताए । उनले संवैधानिक पदहरुमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब विकास, समृद्धि र आवश्यक ऐनहरु निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले स्थानीय तहलाई संविधानमा संघीय सरकारको इकाइको रुपमा नहेरी स्थानिय सरकारको रुपमा परिभाषित गरिएको बताए । पछिल्लो समय प्रदेश र स्थानीय तहलाई अधिकार दिनु हुँदैन भन्ने बिचार हाबी हुन लागेको भन्दै उहाँले प्रदेश र स्थानीय तहको काम छैन भन्नु राजनीतिक अनैतिकता भएको बताए। उनले संविधानले व्यवस्था गरे अनुसार आवश्यक ऐन र संरचनाहरु निर्माण गरेर मात्रै यसको समिक्षा गर्नुनपर्ने बताए ।
प्रधानमन्त्री दाहालले स्थानीय तहहरुले कर धेरै उठाउने गरेको जनगुनासो आउने गरेको भन्दै त्यस्तो गुनासोलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए । उनले सेवाग्राहीमुखि कर प्रणाली बनाउन स्थानीय तहहरुको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया