देशले भर्खरै कार्यकालका हिसाबले चौथो र व्यक्तिको हिसाबले तेस्रो राष्ट्रपति पायो । सर्वसत्तावादविरुद्ध ६ दशकसम्म निरन्तर आन्दोलित आदरणीय नेता रामचन्द्र पौडेल यस्तो राष्ट्रपतिमा छानिनु भयो । उहाँको यो विजयसँगै देशले अब कुनै पनि प्रकारका सर्वसत्तावादको भय रहने छैन भन्नेमा देश ढुक्क हुन पुग्यो ।
राष्ट्रपतिमा निर्वाचित पौडेलको राजनीतिकयात्रा सर्वसत्तावादकै विरोधबाट सुरु भएको थियो । २०१७ साल पुस १ त्यो यात्राको प्रारम्भ दिन हो जुन दिन संसदीय पद्धतिमा कू भयो । त्यसपछि देशमा निरंकुशतातर्फ जेजस्ता र जति कठोर प्रकारका आन्दोलन गर्नुप¥यो, गरिए त्यो आफ्नो ठाउँमा छँदैछ । संयोग कस्तो रह्यो भने संसदीय पद्धतिमाथि कू भएको ६० वर्षपछि एउटा अर्को अनुहारमा त्यही सर्वसत्तावाद प्रकट भयो २०७७ पुस ५ मा । जनताले निर्वाचित गरेको संस्था संविधानसभाले घोषणा गरेको संविधानमाथि पनि आक्रमण हुन थाल्यो र पौडेलले त्यसका विरुद्ध पनि लड्न पर्यो । पुस ५ को दिन यसबेलाको संविधानले नदिएको अवस्थामा नै संसद् विघटनमा प¥यो । त्यसका विरुद्ध नेपाली कांगे्रसभित्रबाट पहिलो आवाज उठाउने नेता हुनुहुन्थो रामचन्द्र पौडेल ।
उहाँ अहिले जुन संविधानअनुसार राष्ट्राध्यक्ष बनाइनुभयो, यो संविधान निर्माणदेखि यसको पालनासम्मका सबै ठाउँमा उहाँको उपस्थिति अधिनायकविरुद्ध सशक्त आवाज उठाउने र आन्दोलनको अभियान चलाउनेमा नै रहे । त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा होस् वा संसदीय पद्धतिविरुद्ध त्यही संसद्को नेता प्रधानमन्त्रीका गैरसंवैधानिक कदम हुन् । यी सर्वसत्तावादका अवशेष थिए जसका विरुद्ध लड्न कहिल्यै छाडनु भएन, कहिल्यै सम्झौता गर्नु भएन । पौडेललाई राष्ट्रिय अभिभावकको रूपमा पाउँदा समग्र देश हर्षित भएको पृष्ठभूमि यही हुनुपर्छ ।
देशमा पौडेलको परिचय नै लोकतन्त्रमाथि जुनसुकै नाममा र प्रकारले आँच पु¥याउने कुनै पनि वादविरुद्ध होमिने नेताका रूपमा कायम रहेको पाइन्छ । पौडेल गणतान्त्रिक नेपालको राष्ट्रिय अभिभावकमा चुनिनुभएको त्यसदिनको त्यो क्षणले दिएको सन्देश हो– अव देशमा कुनै पनि रूप र आकारको सर्वसत्तावादले ठाउँ पाउँदैन । जुन व्यक्तिबाट आफ्नो जीवनको पूरै ६० वर्ष नागरिकलाई वास्तवमा नै सार्वभौमसत्ता सम्पन्न बनाउने पद्धतिका लागि अर्पण भयो, देशले त्यस्तो व्यक्तित्वको अभिभावकत्व पाउनु आफंैमा एउटा अहोभाग्य नै हो । लोकतन्त्रका लागि निरन्तर संघर्षको उहाँको यस्तो लोभलाग्दो व्यक्तित्वको सही मूल्यांकन गर्दै जनप्रतिनिधिहरूले अत्यधिक मतबाट उहाँमाथि राष्ट्रपतिको आउँदो पाँच वर्षको कार्यकाल सुम्पनु भएको छ । जनप्रतिनिधिको यो स्थानबाट सम्पन्न भएको यो काम आफैंमा एउटा आमअपेक्षा प्रकट भएको अवस्था हो । संसद्मा प्रतिनिधित्व गर्ने बाह्रवटामध्ये एघारवटा दलले यो दिन यो रूपमा उहाँमाथि आफ्नो आस्था, भरोषा र विश्वास व्यक्त गर्नुभयो । यो जनमत राष्ट्रपतिको संस्था र यसरी चुनिनुभएका व्यक्तिका लागि आफैँमा एउटा अभिलेख पनि हो ।
राष्ट्रपतिका लागि सम्पन्न भएको यो निर्वाचनमा विगतभन्दा केही नयाँ परिदृश्यहरू पनि देखिए । त्यसमध्येको एउटा हो मत माग्ने नयाँ अभ्यास । यो निर्वाचनमा दुई दलबाट दुइजना उम्मेदवार हुनुहुन्थ्यो । जसले आ–आफ्ना उम्मेदवार उठाउनु भएको छ उनै उम्मेदवार र उहाँका दलसँग आफ्ना लागि मत माग्नुभयो । यो एउटा सौहार्द्रपूर्ण प्रतिूपर्धाको नमुना हुनुपर्छ । अर्को, राष्ट्रपतिका उम्मेदवार उहाँहरूले एक प्रकारले आ–आफ्ना घोषणापत्र जस्तै हुनेगरी आफूले यो कार्यकालमा सम्पन्न गर्ने कामको फेहरिस्त नै ल्याउनुभयो । विगतमा यस्तो देखिएको थिए ।
संविधानका ज्ञाता विपिन अधिकारीका अनुसार राष्ट्रपतिलाई ‘सेरेमोनियल’ भनेर मानमर्दन गर्न हुँदैन, राष्ट्रपतिको क्षमता संवैधानिक हो, उसलाई शक्तिहीन ठान्नु गलत बुझाइ हो । वर्तमान संविधानले राष्ट्रपतिलाई तीन रूपमा प्रस्तुत गरेको छ– राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवर्धक र संविधानको संरक्षक एवं पालक । राष्ट्रपतिको पछिल्लो निर्वाचन सन्दर्भमा राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवर्धक र संविधानको संरक्षक एवं पालक हो भन्ने कुरा तीव्र रूपले उठ्यो । राष्ट्रपतिका दुई उम्मेदवारले यो निर्वाचन अवधिभरि आफू निर्वाचित भएमा के गर्ने भनेर आफ्नो कामको विस्तृत खाका नै प्रस्तुत गर्नु भयो । राष्ट्रपतिका लागि विगतमा तीनवटा निर्वाचन भइसकेका छन् । यो चौथो हो । यसअघि यस्तो भएको थिएन । यो निर्वाचनमा भने वातावरण करिब करिब कार्यकारी तहको जस्तो बन्यो । राष्ट्रपतिले के गर्ने भन्ने संविधानमा स्पष्टसँग लेखिएका छन् । संविधानले निश्चित अवस्थामा निश्चित संवैधानिक अंगको सिफारिसअनुसार काम गर्ने र अन्य अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा हुने भनेर किटानी नै गरेको छ ।
राष्ट्रपतिले आफूले पनि कुनै काम चाहेमा प्रधानमन्त्रीको सम्मति चाहिन्छ । विज्ञहरूका अनुसार सिफारिस र सम्मति दुवै प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष पेस हुन्छ । त्यसको अर्थ हो, प्रधानमन्त्रीलाई पन्छाएर राष्ट्रपतिले अरू कसैबाट सिफारिस लिन हुँदैन । प्रधानमन्त्रीले दिएको सम्मति मन्त्रिपरिषद्कै सम्मति हो । सिफारिस र सम्मतिले नै राष्ट्रपतिले कुनै गल्ती गर्दैन भन्ने मान्यता स्थापित गराउछ । राष्ट्रपतिका कुनै काममा सरकार नै पूर्णरूपले जवाफदेही हुन्छ ।
यस्तो बेलामा राष्ट्रपतिका उम्मेदवारले निर्वाचनमा कुनै छुट्टै धारणा राख्न नपर्ने हो । तर यो पटक राष्ट्रको अभिभावक बन्न चाहनेहरूबाट त्यस्तो प्रतिबद्धता नै खोजियो । यसले विगतका भूमिकाहरू केकस्ता रहेछन् भन्ने पनि बुझाउछ । ती विशिष्ट अवस्थामा राष्ट्रपतिहरूले विशिष्ट भूमिका निर्वाह गर्नुभयो होला तर अपेक्षा भने संविधानको परिकल्पना गरेको ‘गल्ती नगर्ने राष्ट्रपति’ भन्ने नै रहेछ । प्रतिस्पर्धामा जाँदा उहाँहरू दुई उम्मेदवारले गर्नुभएका घोषणाका अंशले मुलुक राष्ट्रपतिबाट कस्तो अपेक्षा गर्दोरहेछ भन्ने बुझाउछ । यो पनि एउटा अभिलेख नै हुनुपर्छ । उहाँहरूका यी घोषणाले देशको राष्ट्रपतिको पदको गरिमा, भूमिका र जनअपेक्षालाई समेत प्रष्ट पार्दछ । त्यसकारण पनि तिनका अंश यहाँ प्रस्तुत गरियो ।
शीतल निवासबाट सबैलाई शीतलता
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार (विजयी) बन्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन अघिको घोषणामा जीवनभर (रिन्तर ६ दशक) लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषय प्रमुख रहे । उहाँको मूल भनाइ नै जनताले अपेक्षा गरेअनुसारको आचरण र संविधानको परिपालनाले शीतल निवासबाट सबैले शीतलताको छहारी पाउनेमा केन्द्रित थियो । उहाँका निर्वाचित हुनु अघिका घोषणाका अंश – मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा संघर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो । अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ ।
राजतन्त्र र राष्ट्रपतिका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्राध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ । त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ । मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर संघर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात् गरेको व्यक्तिका नाताले आउन सक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ ।
राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ । त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकें भने शीतल निवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।
सडक र आकाश जाम हुँदैन
विगतमा राष्ट्रपतिप्रति सडकमा देखिएको तामझामले पनि चर्चा दिलायो । त्यो सन्दर्भमा राष्ट्रपतिका अर्का उम्मेदवार (पराजित) सुवासचन्द्र नेम्वाङले त आफ्नो घोषणामै भन्नुभयो आफू निर्वाचित भए ‘सडकमा निस्कँदा जनताले जाम र उडानमा रहँदा आकाश अवरुद्ध हुन दिन्नँ, अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ, । उहाँका पराजित हुनुअघिका घोषणाका अंश – राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । उसले राष्ट्रिय एकताको संवर्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो । संयोग, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरू दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौँ । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।
राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु ।
उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरा तर्फबाट हुनेछ ।
प्रतिक्रिया