आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल सहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको थियो ।
नेपाल सरकारले आज नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ ।
महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरि देशभर आज दिवस मनाइदैँ छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
श्रमिक महिला दिवसको ईतिहास
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेका थिय ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन सुरु गरिएको हो ।
राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताउनुभयो । महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्ने उहाँले वताउनु भयो ।
आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ ।
प्रतिक्रिया