काठमाडौं । हरेक वर्ष झै यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवस महिलाको उपलब्धि र अधिकारको प्रगतिलाई मनाउने वार्षिक कार्यक्रम हो। यो २० औं शताब्दीमा अमेरिकी समाजवादी र श्रम आन्दोलन जोडिएको विषय हो ।
त्यतिबेला महिलाहरू कम कामको घण्टा, राम्रो पारिश्रमिक र मतदानको अधिकारको लागि लडिरहेका थिए । महिला दिवसको पहिलो उत्सव १९११ मा मनाइएको थियो । यस अवधिमा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा १० लाखभन्दा बढी मानिसले महिला अधिकारको पक्षमा जुलुस निकालेका थिए ।
यसले महिलाका लागि समानतादेखि लिएर कार्यस्थलमा महिला विरुद्ध हुने हिंसासम्मका मुद्दाहरूमा पनि ध्यान केन्द्रित गरेको थियो । तर, कार्यक्रमको स्वामित्व कुनै समूहको थिएन । संयुक्त राष्ट्र संघले सन् १९७७ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको थियो । त्यसयता संयुक्त राष्ट्रसंघका सदस्यहरूले यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका छन्।
अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ मा मनाइन्छ ।
सन् १९१७ मा रुसी महिलाहरूले रोटी र शान्तिको माग गर्दै विरोध प्रदर्शन गरे । यही विरोधका कारण तत्कालीन रुसी जारले सत्ता छोड्नुपरेको थियो । अन्तरिम सरकारले पनि महिलालाई मतदानको अधिकार दिएको थियो । रूसी महिलाहरूले यो प्रदर्शन सुरु गरेको दिन रूसी पात्रो अनुसार २३ फेब्रुअरी (आइतबार) थियो । यदि यो मिति ग्रेगोरियन क्यालेन्डर अनुसार हेर्ने हो भने त्यो दिन ८ मार्च थियो । त्यसयता यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको नाम दिइएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवसको प्रतिनिधित्व गर्ने तीन रङ सेतो, हरियो र बैजनी हुन् । महिला दिवस अभियानका अनुसार सेतोले शुद्धता, हरियोले आशा र बैजनीले न्याय र मर्यादाको प्रतिनिधित्व गर्छ ।
यो वर्षको नारा के हो ?
संयुक्त राष्ट्रसंघको यस वर्षको नारा डिजिट अलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पुरुषको तुलनामा २५ करोड ९० लाख कम महिलाको इन्टरनेट पहुँच छ ।
विज्ञान, गणित, टेक्नोलोजी र इन्जिनियरिङ करियरमा महिलाको प्रतिनिधित्व निकै कम छ। यस्तो अवस्थामा महिलाको आवश्यकता पूरा गर्दै लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो विषयवस्तु छनोट गरिएको हो । यसअघि संयुक्त राष्ट्र संघको विषयवस्तुमा जलवायु परिवर्तन, ग्रामीण महिला र एचआईभी-एड्स समावेश थिए।
महिला दिवस किन महत्वपूर्ण ?
अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको मुख्य उदेश्य महिलाहरुलाई समान दर्जा दिनु हो, जसबाट उनीहरु कुनै पनि अधिकारबाट वञ्चित हुन नपरोस् । उनीहरूलाई कुनै पनि क्षेत्रमा भेदभाव गर्नु हुँदैन। यो विशेष अवसरमा महिला अधिकारका लागि जनतालाई सचेत गराउन विभिन्न कार्यक्रम र अभियान पनि आयोजना गरिएको छ । हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाहरूका साथै ट्रान्सजेन्डर, गैर–बाइनरी र लैङ्गिक गैर–अनुरूप व्यक्तिहरूलाई थप समावेशी बनाउने कुरामा जोड दिइएको छ। –एजेन्सीको सहयोगमा
प्रतिक्रिया