ज्ञानबहादुर रोका
हरेक वर्ष मार्च ८ को दिन विश्वभरि महिलाहरूको सम्मानमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आएको छ । यो दिन विश्वभरिका नारीहरूको त्याग उनीहरूले समाजप्रति गरेको योगदान, वलिदानको लागी महिलाहरूलाई आदार, सम्मान अनि प्रशंसा गर्ने दिनको रूपमा संसारभरि नै विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । लगभग एक शताव्दीभन्दा वढी समयदेखि मार्च ८ लाई विभिन्न कार्यक्रम गरी महिलाका लागि विशेष दिनका रूपमा मनाउँदै आएको पाइन्छ ।
परम्परागत रूपमा लामो समयसम्म राज्यको स्रोतसाधन, अवसर, सेवा, सुविधा, शक्ति, राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, सामाजिक स्थिति, लैगिंक आधारलगायतमा केही सीमित वर्गले मात्र त्यसलाई उपयोग गर्नुका साथै आफ्नो कब्जामा राखी रहँदा समाजमा ठूलो विपन्न वर्ग जहिले पनि सबै प्रकारका अधिकार र शक्तिवाट पाखा लाग्दै कुनै न कुनै रूपमा बहिस्करणमा पुगेर राज्यबाट पाउने सेवासुविधामा विभेद पुग्न थालेको थियो ।
समयको परिवर्तन सँगै मानिसमा आएको सकारात्मक चेतनाको स्तरमा पनि वृद्धि हुँदै गयो । फलस्वरूप समाजमा सामाजिक रूपमा पछाडि परेका वा पारिएका वर्ग, लिंगमा सामाजिक, सांस्कृतिक, आर्थिक कुण्ठा, आक्रोशका साथै द्वन्द्व सिर्जना हुन पुग्यो । यस्ता समस्याहरू धेरै देखा पर्न थालेपछि समाधान तथा अधिकार प्राप्त गर्नको लागी विभिन्न समयमा विभिन्न माग राखी आन्दोलन हुन थाल्यो । ती विभिन्न आन्दोलनमध्ये महिला र पुरुषमा हुने विभेदका विरुद्ध तथा पिछडिएका वर्ग, लिंगका सबैले आ–आफ्नो अधिकार र स्वतन्त्रताको विषयमा आन्दोलन गर्न थाले । त्यसैको फलस्वरूप महिलाहरूले पनि आफ्नो अधिकार खोज्दै आन्दोलन गर्न थाले ।
विश्वमा विभिन्न समयमा भएका अनेकौं आन्दोलनसँगै सन् १९०८ मा हजारौं महिलाले न्युयोर्क सिटीमा विभिन्न माग राखी जसमा काम गर्ने समय कम हुनुपर्ने, राम्रो ज्याला पाउनु पर्ने, महिलालाई पनि मतदानको अधिकार हुनुपर्नेलगायतका माग राखी आन्दोलनको बिजारोपण गरेका थिए । त्यसको फलस्वरूप सन १९०८ को अन्तर्राष्ट्रिय महिला कामदारको आन्दोलनको स्मरणमा अमेरिकामा समाजवादी पार्टीले २८ फ्रेवुअरी १९०९ मा पहिलो महिला दिवस घोषण गरेको पाइन्छ । यस दिवसलाई अन्तर्राष्ट्रिय रूपमा आरभ्भ गर्ने पहिलो महिला क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा भएको महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा प्रस्ताव राखेकी थिइन् । जुन सम्मेलनमा १७ देशका १०० जना महिलाको सहभागिता थियो जुन प्रस्तावलाई सवै महिलाहरूले समर्थन गरेका थिए ।
सन् १९०९ देखि नारी दिवस मनाउन थालिएता पनि यो दिवस मनाउने खास दिन तोकिएको थिएन । प्रत्येक देशले प्रत्येक वर्ष आ–आफ्नै तरिकाले फरकफरक दिनमा मनाउँदै आएका थिए । तर सन् १९१४ देखि मात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा यो दिवस मनाउने गरी निश्चित मिति तोकिएको हो । त्यसपछि भने संसारभरि नै मार्च ८ को दिन नारी दिवस मनाउँदै आएकामा सन् १९७२ डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र संघको साधारणसभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुष सरह स्वतन्त्र र बन्धमुक्त होऊन् उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिलालाई पनि स्वतन्त्रताको अधिकारको आवश्यक छ भन्ने महसुसका साथै भित्रैदेखि भावनाको विकास होस् भन्ेन आशयका साथ यो दिवस मनाउन थालेको पाइन्छ । यसरी संसारले ५०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाई सकेपछि मात्र नेपालमा २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नेपालमा नियमित रूपमा यो दिवस मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरि अधिकाश देशमा महिलाहरूलाई सार्वजनिक बिदा दिनुका साथै विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्ष फरकफरक किसिमको सन्देश बोकेका नाराहरू घोषणा गरी महिलाहरूले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायतका विकासका अन्य आयामहरूमा नारीले पु¥याएको योगदानको प्रशंसाको साथै सम्मान गरी मनाउने गरिन्छ । मार्च ८ नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरूको जागरुकताको दिनको रूपमा लिइन्छ । यो दिवस राजनीतिक अधिकार प्राप्तिको लागि सुरु भएता पनि समयको परिवर्तनसँगै यो दिवस हाल महिला अधिकार, महिला सशक्तीकरण, लैंगिक समानतालगायतका सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवसका विषयवस्तु हुने गरेका छन् । सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक उपलब्धिका रूपमा यस दिवसलाई लिन सकिन्छ । अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीहरूको सहभागिता वढ्न थालेको पाइन्छ । यसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
विशेषगरी नारीहरू पहिला छोरी अनि दिदीबहिनी, बुहारी, श्रीमती, आमा, हजुरआमाको रूपमा आ–आफ्नो भूमिका घरपरिवारका साथै समाजमा निर्वाह गरिरहेका हुन्छन् र आफ्नो भूमिकाअनुसारको कर्तव्य र दायित्व पनि निर्वाह गरेका हुन्छन् । नेपाली समाजको कुरा गर्ने हो भने नारीलाई धनको देवी लक्ष्मी, विद्याकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्दै आएको समाजले अरु त के कुरा गरौं महिलालाई पुरुष समान व्यवहार गर्न पनि नसकेको अवस्था छ । आधुनिक समाजमा पनि परम्परागत रूपमा समाजले अँगालेको धार्मिक एंव सांस्कृतिक मूल्य, मान्यता, संस्कारले महिला र पुरुष बीचमा असमान भूमिका दिई विभेद गरेको पाइन्छ ।
देशको आधाभन्दा बढी जनसंख्या ओगटेको नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाले अधिकार प्राप्त विशेषगरी नेपालमा प्रजातन्त्र स्थापना भएपछि त्यसमा पनि विशेषगरी दोस्रो जनआन्दोलन २०६२⁄०६३ पछि जारी भएको नेपालको अन्तरिम संविधान २०६३ मा केही अधिकारहरू थप भएका थिए भने नेपालको इतिहासमा नै पहिलो पटक संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ ले थुप्रै हक अधिकारको व्यवस्था गरेको छ ।
जसमा राजनीतिक रूपमा केन्द्रदेखि स्थानीय तहसम्म संघीय संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गर्नुका साथै महिलाहरूलाई राज्यका सवै निकायहरूमा महिलाहरूलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गरी सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था गरेको साथै महिलाको सहभागिता सुनिश्चित गरेको छ ।
त्यस्तै धारा ३८ मा महिलाको हक संरक्षणको उल्लेख गर्दै त्यस्तो हक हनन् भएमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ । त्यसैगरी धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, लिगको आधारमा भेदभाव गरिने छैन भनी उल्लेख गरिएको छ भने धारा २९ मा शोषणविरुद्धको हकमा कसैलाई बेचबिखन वा दास वनाउन पाइने छैन भन्ने कुरा उल्लेख गरिएको छ भने मुलुकी अपराध संहिता २०७४ मा महिलाविरुद्धको कसुरलाई जघन्य कसुर मानेको छ ।
त्यस्तै मुलुकी देवानी संहिता २०७४ मा महिलाले सम्पत्ति पाउने हकलाई पनि सुनिश्चित गरेको पाइन्छ । त्यसैगरी विभिन्न समयमा महिलासम्बन्धी ऐन, नियमहरू बनेको पाइन्छ जसमा घरेलु हिंसा कसुर सजाय ऐन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, राष्ट्रिय महिला आयोगलगायतका रहेका छन् । तर विडम्बना मान्नुपर्छ पछिल्लो समय बढ्दै गइरहेको, दाइजोप्रथा, बिधवा प्रथा, छाउपडी प्रथा, बोक्सीको आरोपलगायतका विभिन्न किसिमका प्रथाले महिलाहरूले दिनप्रतिदिन अमानवीय व्यवहारका साथै अपमानित हुनु परेको छ ।ं
आजको प्रविधियुक्त आधुनिक विश्वमा पहिलेभन्दा नारीहरूको विकास र उत्थानको लागि धेरै प्रभावकारी र प्रशंसनीय काम भएको पाइन्छ । पछिल्लो समय नेपालमा पनि सकारात्मक कामहरू भएका छन् । तर पनि अझै धेरै काम गर्न बाँकी छन् । जसमा घरेलु हिंसालाई सबैभन्दा पुरानो महिलाविरुद्धको हिंसाको रूपमा लिइन्छ । विशेषगरी परम्परागत रूपमा हुँदै आएको पितृसत्ताको नाममा, धर्म, संस्कारको नाममा, लिंगका नाममा जस्तै शारीरिक कुटपिट, अप्ठ्यारो काममा लगाउने, पोषणयुक्त खानपानमा विभेदपूर्ण व्यवहार, भ्रूण हत्या, शारीरिक बन्धक, यौन दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार, दाइजोका नाममा जिउँदै जलाउने काम, एसिडको प्रयोग, आदिजस्ता घरेलु हिंसा परम्परादेखि नै चलिआएको कुरा महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ अन्तर्गत गठित समितिले यो महिलाविरुद्ध हुने सबैभन्दा पुरानो स्वरूप रहेको कुरालाई मानेको छ ।
त्यसैगरी मनोवैज्ञानिक हिंसा तथा तनावहरूमा जबरजस्ती करणी, बालश्रम, वैवाहिक बलात्कार, घृणा, अविश्वास, अपहेलना, तिरस्कार, अपशब्दको प्रयोग, विभिन्न किसिमका अश्लील तस्बिरको प्रयोग, झुट्टा आरोप लगाउने, विभिन्न बहानामा घरनिकाला गर्ने, सम्पत्ति प्रयोग गर्न नदिने, खालका रहेका छन् । त्यसैगरी सामाजिक तथा सांस्कृतिक हिंसा पनि प्रशस्त मात्रामा रहेका छन् । जसमा परम्परागत मूल्य, मान्यता, संस्कार, भेषभूषा, धर्म, संस्कृतिको नाममा दाइजो प्रथा, छाउपडी प्रथा, झुमा प्रथा, वोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने, मुड्ने, जातीय विभेद, शिक्षामा असमानता, पारिवारिक, साामजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक अवसरवाट वञ्चितमार्फत पनि यो हिंसा धनी, गरिब, सानो ठूलो जुनसुकै समाजमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै हिंसाहरू कलंकको रूपमा रहेका छन् । नेपालमा हेर्ने हो भने कुनै समय सति प्रथा एउटा ठूलो कंलकको रूपमा रहेको थियो । त्यसैले के भन्न सकिन्छ भने यस्ता किसिमका हिंसा वा विभेदहरू सदियांैदेखि चलिआएका छन् । जसलाई छिटोभन्दा छिटो हटाई महिलाहरूलाई निर्धक्क भएर आफ्नो जीवनयापन गर्ने वातावरण बनाउने कार्यमा समाजका सबै नागरिक लाग्नु आजको आवश्यकता हो ।
२१औं शताब्दीको प्रविधियुक्त आधुनिक विकसित खुला समाजमा व्याप्त अतिवादी सोच र संकीर्ण धार्मिक चिन्तनबाट ग्रस्त समाजमा लिंगका आधारमा लंैगिक हिंसाका चरम रूप देखिनु आधुनिक वैज्ञानिक समाजमा विद्यमान रहनु कुनै एउटा देशको मात्र नभएर अन्तर्राष्ट्रिय समाजको नै ठूलो चुनौती हो । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ सुख, शान्ति, समृद्ध समाजको निर्माण हुन सक्छ । प्रत्येक वर्ष मनाइँदै आएको नारी दिवसको अनि मात्र सान्दर्भिक र अर्थपूर्ण रहन्छ । होइन भने यो नारी दिवस केवल केही ठूला बडा व्यक्तिलाई मञ्चमा बोलाएर सम्मान गर्ने अनि भाषण गर्ने थलोको रूपमा परिणत नहोला भन्न सकिन्न । किनभने कतिपय महिला दिवसका अभियानहरू केवल नारा र भाषणमा मात्र सीमित भएका छन् । अल्पविकसित देशमा मात्र होइन निकै विकसित मानिएका देशहरूमा पनि नारीहरू उत्पीडन र असमानतामा परेका छन् । सडकदेखि सदनसम्म घरपरिवारदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नारी मैत्री स्वरहरू गुञ्जियोस् । समाजले सामाजिक संरचनाले तोकिदिएको महिला र पुरुषबीचको विरोधाभाष पूर्ण भूमिकाको खाडल पुर्नको लालि समाजका सबै जनाले विशेष गरी नवपुस्ताले सकारात्मक भूमिका खेल्न सकुन् नारी दिवसको अवसरमा विश्वका सबै नारीहरूलाई हार्दिक मंगलमय शुभकामना ।
प्रतिक्रिया