देशमा जनप्रतिनिधिहरूले राष्ट्राध्यक्षको निर्वाचन गर्न थालेको डेढ दशकमात्रै भएको छ । केहीअघि पूर्वराजाबाट आफ्नो वंशले २५० वर्ष शासन गरेको स्मरण गराउँदै सत्तामा साझेदारी खोज्नु भएको सन्दर्भमा पनि जनप्रतिनिधिहरूले राष्ट्राध्यक्षको छनोट गरिरहिएको यो अवसर जनताका लागि लोभलाग्दो भएको हुनुपर्छ । पूर्वराजाबाट यतिबेला सम्झाइएको आफ्नो वंशको त्यो शासनमा जनता राष्ट्रप्रमुखको छेउसम्म पर्न पाउँदैन थिए ।
डेढ दशक भनेको तीनवटा आवधिक निर्वाचनको समय हो अहिले प्रतिस्पर्धा भैरहेको यो पद संविधानसभाले घोषणा गरेको संविधानअनुसार तेस्रो कार्यकालको हो । यसका लागि यतिबेला दुईजना प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेको प्रतिस्पर्धाको अर्को झन् आकर्षक पक्ष हो उहाँहरू आफैं पनि निरन्तर जननिर्वाचित हुँदै आउनु भयो र त्यस्तै जनप्रतिनिधिको सर्वोच्च थलो प्रतिनिधिसभाको सभामुख हुनुभयो । कांंग्रेसका वरिष्ठ नेता पौडेल त संसद् पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचनदेखि नै निरन्तर निर्वाचित हुँदै आउनुभएको छ । उहाँको यस्तो उम्मेदवारीले पनि यो निर्वाचन लोभलाग्दो मानिएको हुनुपर्छ ।
संविधान रक्षाको अपेक्षा
आम तहमा नै अबको राष्ट्रपतिबाट गरिएको अपेक्षा हो संविधानको रक्षा । संविधानसभाबाट संविधान घोषणा भएपछिको बितेको सात वर्षमा सबैभन्दा खड्किएको विषय नै संविधानको रक्षा गर्नुपर्ने ठाउँबाट संविधानमाथि नै प्रहार भैरहेको अवस्था रह्यो । राष्ट्रपतिका अहिले प्रस्तावित दुई उम्मेदवारका सन्दर्भमा यो कुरा जोडिन आएको कारण पनि त्यही हुनुपर्छ । समाचारका मूल विषय पनि यही बनेको छ । ‘राष्ट्रपति निर्वाचनको दौडधुप लागेका राजनीतिक दलहरू राष्ट्रिय राजनीतिका मुद्दामा पनि दुई ध्रुवमा विभाजित बन्दै गएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको आठदलीय मोर्चाले केपी शर्मा ओली सरकारले विगतमा गरेको प्रतिनिधिसभा विघटनलाई गलत भनेर प्राथमिकतासाथ उठाइरहेको छ । अर्कातिर उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले विघटनको कदमलाई बचाउ गरिरहेको छ ।’
२०४७ सालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको थियो तर संविधानसभाबाट जारी नयाँ संविधानमा प्रतिनिधिसभाले सरकार गठन गर्ने विकल्प छँदासम्म प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको छैन । त्यही कारण संसद्को अघिल्लो कार्यकालमा दुईपटक संसद् विघटन गरिँदा दुवैपटक सर्वोच्च अदालतले निर्णय उल्टाइदिएको थियो । एमालेबाट प्रस्तावित उम्मेदवारका सन्दर्भमा सबैमा विगत दोहोरिन्छ कि भन्ने डर छ । भर्खर समीकरण फेर्नुभएका प्रधानमन्त्रीका अनुसार ‘एमालेबाट राष्ट्रपति बनाउँदा विगतकै प्रवृत्ति दोहोरिने भयले समीकरण नै बदल्नु परिरहेको’ हो ।
आदरणीय नेता पौडेल संविधानका सन्दर्भमा त्यस्तो पात्र होे जो संविधानसभाबाट संविधानको निर्माण हुँदा त्यसलाई लोकतान्त्रिक दायराबाट बाहिर जान नदिन निरन्तर अथक लडाइँ लड्ने व्यक्तिमा पर्नुहुन्छ ।
देशलाई सर्वसत्तावादको दिशामा धकेल्न खोज्दा यसविरुद्ध पहिलो आवाज घन्काउने र असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरिँदा नेपाली कांग्रेसभित्रबाट पुनस्र्थापनाको माग उठाएर वर्तमान संविधान र संसद्को रक्षा उहाँकै अगुवाइमा भएको थियो ।
त्यसै पनि पौडेलका पक्षमा आठ दल खडा भयो । संसद्को दोस्रो ठूलो दलले आफूलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्दासमेत त्यो नेतृत्वले पौडेललाई नै रोज्यो । यसले अबको राष्ट्रपति संविधानको वास्तविक संरक्षक हुनुपर्छ मनसाय नै हो । विगतको तीतो अनुभव अहिलेका लागि पाठ बनेर आएको अवस्था हो यो । नेपाली कांग्रेसले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवार पौडेल समसामयिक नेपाली राजनीतिका शीर्ष व्यक्तित्वमध्येका पनि पनि एक हुनुहुन्छ ।
आठदलीय समर्थनमा यो वरिष्ठ व्यक्तित्व राष्ट्रपति हुने निश्चितजस्तै देखियो । देशकै अभिभावक हुनुपर्ने राष्ट्रप्रमुखमा यस्ता वरिष्ठ राजनीतिक व्यक्तिको उपस्थितिले लोकतन्त्र वा अहिलेको संविधानले सही संरक्षण पाउनेछ । उहाँको यस्तो व्यक्तित्वले अबको पाँच वर्ष संविधानको मर्यादा र व्यवस्थाको स्थिरतासँगै उन्नतिले गति लिने अपेक्षा स्वाभाविक छ ।
दुई विद्वानका नजरमा दुई उम्मेदवार
प्राध्यापक कृष्ण खनालका दृष्टिमा रामचन्द्र पौडेल :
रामचन्द्र पौडेल राष्ट्रपति बन्नुलाई अन्यथा मान्नु पर्दैन । यतिखेर नेपाली कांग्रेसले दिन सक्ने उम्मेदवारमध्ये पौडेल नै सबैभन्दा उपयुक्त व्यक्ति पनि हुन् । उनको राजनीतिक पृष्ठभूमि, लोकतन्त्रप्रति संलग्नता निरन्तर छ । कांग्रेसको सभापति र प्रधानमन्त्री बन्ने उनको धोको पूरा भएन । जे होस्, राजनीतिक जीवनको उत्तरार्धमा गणतन्त्रको उपलब्धिका रूपमा राष्ट्रपतिमा निर्वाचित हुँदा उनले सम्मानयोग्य स्थान पाएको मान्नुपर्छ । ज्ञानेन्द्रको शाही निरंकुशता सुरु भएपछि अब गणतन्त्रमा जानुपर्छ भन्ने कांग्रेसका अत्यन्त थोरै नेतामध्ये उनी पर्छन् । कांग्रेसमा संस्थापक नेताहरूपछि विचार प्रवाहको भूमिका खेल्ने दोस्रो पंक्तिमा उनी अग्रणी व्यक्ति पनि हुन् ।
उनले यो जिम्मेवारी र अवसर पाउँदा लोकतन्त्र र गणतन्त्र प्रतिकूल काम हुँदैन भन्नेमा विश्वस्त हुन सकिन्छ । तर यतिखेर मुलुकको राजनीति, लोकतन्त्र र राष्ट्रपति हुने व्यक्तिको व्यवहारका कारण गणतन्त्रसमेत तमासाको विषय भएको छ । यसप्रति संवेदनशील नहुने हो भने जो राष्ट्रपति भए पनि कुनै अर्थ रहँदैन । राष्ट्रपति भनेको राजनीति गर्ने व्यक्तिको सुविधा र प्रतिष्ठाको पद मात्र होइन ।
सुवास नेम्बाङ : एमालेबाट उम्मेदवार भएका सुवास नेम्बाङलाई त २०७४ सालमै एमालेले राष्ट्रपति बनाउनुपथ्र्यो । संविधानसभा अध्यक्षका रूपमा उनले खेलेको भूमिकाका कारण त्यो अपेक्षित पनि थियो । तर अहिले उनको छविमा स्खलन आइसकेको छ । गत प्रतिनिधिसभा विघटन प्रकरणहरूमा एमाले संसदीय दलको उपनेताको हैसियतमा उनको भूमिका ओलीको छायासरह भयो । संविधान जारी गर्दा सभामुखको हैसियतले आफैंले भनेका कुरामा उनी अड्न सकेनन् । उनीबाट राष्ट्रपतिको पदीय मर्यादा सुरक्षित रहला भनेर विश्वास गर्न कठिन छ । जुवा हारेको बेलाको बाजीजस्तै देखिन्छ, उनको उम्मेदवारी पनि । (राष्ट्रपतिको चुनावसँग जोडिएको राजनीति कान्तिपु १४ फागुन)
विश्लेषक भाष्कर गौतमका नजरमा – रामचन्द्र पौडेल ः कांग्रेसभित्र थोरै त्यस्ता नेताहरूमा पर्छन् जसले लोकतान्त्रिक गणतन्त्रका पक्षमा बेलैमा आफ्नो विचार प्रस्ट बनाए । कांग्रेसका धेरै विचारवान् नेताहरूले समेत गणतन्त्रको विरोध गरिरहँदा आफ्नो दललाई गणतन्त्रतर्फ डो¥याउन भूमिका खेले । कांग्रेसीभित्र उनी राष्ट्रपति पदका लागि उपयुक्त पात्र हुन ।
सुवास नेम्वाङ ः सुवास नेम्वाङ एमाले अध्यक्ष ओलीजस्तै लोकतान्त्रिक गणतन्त्रमा घिसारिएर आएका हुन् । यी सबैलाई गणतन्त्र साकार बनाउन अनेकौं संघर्ष गरेका ‘हामी’ ले ल्याएका थियौं । टाउको कन्याउँदै गणतन्त्रमा आउन बाध्य भए पनि संविधानसभाको अध्यक्षका रूपमा नेम्वाङले महत्वपूर्ण भूमिका खेले । तर जब आफ्नै दलका प्रधानमन्त्रीले संविधान र गणतान्त्रिक थितिको प्राण खोस्ने कदम चाले, नेम्वाङले तम्सिएर आफूले समेत बनाएको संविधानको अपव्याख्या गरे । आफ्ना नेताको पक्षमा उभिए । हिजो संविधानको अपव्यय गरेको व्यक्तिले नयाँ राजनीतिक परिस्थिति र भूमिका पाए, त्यही गर्छ भन्ने छैन । नयाँ सोच राख्दै फरक भूमिका पनि खेल्नेछ । तर साफ छ, पौडेल र नेम्वाङमध्ये भविष्यमा समेत संविधानको अपव्याख्या गर्ने सम्भावना नेम्वाङमा बढी छ । (हामीले खोजेको राष्ट्रपति, कान्तिपुर, फागुन १५)
अभिलेखमा रहनुपर्ने पत्र
पौडेलको राष्ट्रप्रतिमा उम्मेदवारीबारे नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष आदरणीय केपी ओली समक्ष पठाउनु भएको पत्रमा पनि उहाँको थप परिचय छ । त्यो पत्रमा ‘शालीन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरूभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ’ भनिएको छ ।
आफ्नै प्रतिस्पर्धीसँग आफ्ना उम्मेदवारका पक्षमा मत मागिएको यो पत्र पनि राष्ट्राध्यक्षको निर्वाचन सन्दर्भमा एउटा ऐतिहासिक अभिलेख नै हो । त्यो पत्रको व्यहोरा –
श्री केपी शर्मा ओलीजी
अध्यक्ष नेकपा एमाले
विषयः राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिस्पर्धाका लागि
यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरूप आआफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं । लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं ।
यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु र राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु । राष्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुन सकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ । विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।
शालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरूभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रूपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु जय नेपाल ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस ०७९ फागुन १५ ।
प्रतिक्रिया