काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आठ दलीय गठबन्धन पाँच वर्ष कसैले चाहेर पनि भत्काउन नसक्ने बताएका छन् । राष्ट्रपति निर्वाचनबारे वागमतीका गठबन्धनका सांसदलाई ८ दलको अभिमुखीकरण कार्यक्रममा उनले पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट कांग्रेस कुनै हालतमा पछि नहट्ने बताए ।
उनले गठबन्धन जोगाउन कांग्रेस सबैभन्दा बढी जिम्मेवार भएर लाग्ने बताए । उनले भने, ‘कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन ।’
उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाए । ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन । कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन,’ उनले भने । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि जनताले देख्नेगरी काम थालेर पाँच वर्ष पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेकपा एमालेले राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनमा रहेका दलका पार्टी कार्यालयमा पुगेर मत माग्दै भ्रम छरिरहेको थापाको आरोप छ । उनले एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भएको बताए । ‘आठ दल एक ठाउँ छन्, ती दलका कार्यालय धाएर केही हुनेवाला छैन । यो जिस्काउने जस्तो काम भयो,’ उनले भने, ‘हाम्रै गठबन्धनका साथीहरुले भोट दिने भए भन्दै हिँडिरहेका छन् ।’
एकीकृत समाजवादी, लोसपा ८ दलीय गठबन्धनमा रहेको भन्दै एमालेले आफूलाई भोट दिने भन्दै हिँडेको बताए । ‘एमालेका साथीहरु अहिले घरदैलो गरिराख्नु भएको छ। उहाँको खुट्टालाई कसरत हुन्छ । निर्वाचित हुने रामचन्द्र पौडेल नै हो,’ उनले भने ।
प्रतिक्रिया