काठमाडौं– सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भए पनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताए ।
उनले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए ।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताए । उनले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको बताए ।
सभामुख घिमिरेले संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए ।
उनले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्तै बढी ध्यान दिने गरेको गुनासो गरे । उनले भने, ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ। सक्षमता पनि छ, सक्रियता पनि छ। सहभागिता पनि छ। तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन। महिलाहरुको सहभागिता कम छ। महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ। अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु।’
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा मात्र केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताए ।
उनले विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए । उनले संसद सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको बताए ।
प्रतिक्रिया