देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचनका लागि संगठन दर्ता आज

देशान्तर

चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको औपचारिक प्रक्रिया आजदेखि सुरुहुँदै छ ।

त्यसका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो आज विद्यार्थी संगठनहरुको दर्ता आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति पनि गठन गरिसकेको छ ।

उक्त समितिले क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरेको थियो ।

चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने छ ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ ।

नामावली माथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र दर्ता गरिने छ ।
त्यही दिन ५ बजेसम्ममा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । सोही दिनको साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ । विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ ।

त्रिविमा २०१८÷१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई–दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् ।

तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो ।

स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ । यस वर्ष चैत ५ गते बिहान ८ बजेदेखि मतदान हुनेछ ।

यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र)को अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुकी महासचिव आरती लामाबीच सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिए ।