देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

देशान्तर

काठमाडौं– ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा नगर प्रमुख चिरिबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए ।

अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए ।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन आईएसपीएलाई ललितपुर महानगरले जिम्मा दिएको छ । उक्त कार्यका लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

सम्पदाको शहर ललितपुरको शाख जोगाउन अन्य सरोकारवाला निकायसँग पनि सहकार्य गरिने उनले बताए ।