काठमाडौँ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले राहदानी बनाउँदा हुने समस्याको समाधान भइसकेको दाबी गरेकी छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै मन्त्री पौड्यालले राहदानी समस्या समाधान भइसकेको बताएकी हुन् ।
‘राहदानीको फारम भर्ने अवधि भोलिका लागि आज भर्ने कुरालाई एक महिनासम्मका लागि म्याद खोल्दिने वित्तिकै समस्या धेरै हदसम्म समाधान भइहाल्यो,’ मन्त्री पौड्यालले भनिन् ।
यस्तै, आफू मन्त्री भएपछि पुर्चुगलमा रहेका धेरै नेपालीहरुको राहदानी नरहेको समस्यालाई तत्काल सम्बोधन गर्न मोबाइल टोली पठाएर समस्या समाधान गरिसकेको बताएकी छन् ।
मन्त्री पौड्यालले दुई वर्षअघि बनेको परराष्ट्र नीति पुनरवलोकन गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई दिएको र अहिले पुनरवलोकन गरिरहेको बताएकी छन् ।
प्रतिष्ठानले पुनरवलोकन गरेर एक महिनाभित्रमा उक्त नीतिलाई सार्वजनिक गर्ने तयारी रहेको मन्त्री पौड्यालले जानकारी दिइन् ।
प्रतिक्रिया