देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर संवाद

अबको राष्ट्रपतिलाई व्यवस्था जोगाउने चुनौती  

देशान्तर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय नेपाली राजनीति अस्थिरतातर्फ उन्मुख भएको टिप्पणी गर्दै अहिले बन्ने नयाँ राष्ट्रपतिले संविधानको रक्षाका साथै व्यवस्था जोगाउने हिसाबले काम गर्नुपर्नेमा जोड दिएका छन्, राजनीतिकदलहरूकै कारण संसदीय प्रणालीमा पटकपटक आक्रमण भएको बताउँदै वर्तमान नयाँ गठबन्धनले संविधान रक्षाका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको प्रष्ट पारे ।

अध्यक्ष केसीले लोकतान्त्रिक आन्दोलन पर्दै गएको अवस्थामा कम्युनिस्ट आन्दोलनको रक्षाको कुरा छाड्न बताउँदै नेपालका पार्टीबाट कम्युनिस्ट आन्दोलनको रक्षाको कल्पना गर्न नसकिने पनि बताए । उनले भने ‘सबै कुरा छोड्नुस् २०६२/०६३ सालको आन्दोलनको जुन उपलव्धि छ, गणतन्त्र, लोकतन्त्रको रक्षा गर्न सके ठूलो कुरा हो ।’ अध्यक्ष केसीसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

विगतमा पाँच दलको गठबन्धन थियो, अब आठ दलको गठबन्धन बन्यो कसरी नेपाली राजनीति अघि बढ्छ ?

नेपाली राजनीति अस्थिर भयो । राम्रोसँग अघि बढ्नै सकेन । यो त सबैले देखिरहनु भएकै छ । संसदीय प्रणालीलाई क्षत्विक्षत गर्ने काम भइराख्या छ । संसदीय प्रणालीअनुसार नै पार्टीहरू चल्दैनन् ।सत्ता र शक्तिको लागि (हाँस्दै) हारालुछ र मारामारी छ । कसरी चलाउने भन्ने, ‘अड्को फड्को तेलको धूप’ भन्या जस्तै कसरी जान्छ, हेरौं भोलिपर्सिसम्म ।

यो आठदलीय गठबन्धनमा त तपाईंहरू पनि त हुनुहुन्छ, मिसिनु भएको छ?

हामी मिसिनुको त कारण छ नि । हामी सत्ता र शक्तिको लागि मिसिएको भन्दा पनि, हामी त वाम एकीकरणको लागि वाम आन्दोलनलाई मजबुत पार्नको लागि २०७४ सालमै वाम एकीकरण र वामपन्थी आन्दोलनलाई मजबुत पार्नका लागि मोर्चाबन्दी गरेका थियौंं । तर त्यतिबेला हामी एक ठाउँमा ध्रुवीकृत भए पनि त्यो मोर्चा त ध्वस्त पारे त । त्यसपछि बाध्य भएर हामी लोकतान्त्रिक वाम गठबन्धन बनाउन पुगेका हौं ।  हामी त बाध्यताले अर्को गठबन्धन बनाउन पर्‍यो ।

अहिलेको नयाँ राजनीतिक समीकरणले देशमा स्थिरता दिन्छ त ?

अहिले नै यो नयाँ राजनीतिक समीकरणले स्थिरता दिन्छ भनेर ठूलाठूला कुरा गर्दैन र गर्नुपनि हुँदैन । पार्टी यिनै हुन्, चरित्र यही हो, बानी व्यहोरा यस्तै छ (हाँस्दै) । मुलुकमा अब स्थिरता हुन्छ, सही लोकतान्त्रिक वाटोमा देश अघि बढ्छ भनेर मैले तपाईंलाई कसरी भनौं । अब हेर्दै जानुस् कसरी जान्छ र कसरी लैजान्छन् त्यो त भविष्यमा देखिहालिन्छ ।

अब राष्ट्रपति त तपाईंहरूले उठाएको उम्मेदवारले जित्ने त ‘कन्फर्म’ हो ?
अँ जित्ने सम्भावना धेरै छ । चुनाव त गोप्य मतदान हो । यो त परिणाम आएपछि थाहाँ हुने कुरा हो ।अहिले त हामीले उठाएको उम्मेदवारले जित्नै पर्छ भन्ने नै छ ।

अहिलेको अवस्थामा कांग्रेसका कारण कि एमालेका कारण राजनीतिक अस्थिरता भयो त ?

नेपालका सबै राजनीतिक पार्टीहरूलाई तौलगर्दा कोही कम छैनन् । सत्ता र शक्तिको लागि सिद्धान्त राजनीति सबै पोलेर खाए । त्यसैले कांग्रेस, एमाले माओवादी सबै ठीक बेठीक भन्नुभन्दा पनि सत्ता र शक्तिका लागि जे पनि गर्ने नेपाली राजनीतिक प्रवृत्ति छ, त्यसैको दुष्परिणाम हो । सामान्य संसदीय हिसाबले कुरा गर्नुहुन्छ भने त, संसद्भित्रका ठूला पार्टीहरू ८९ सिट भएको नेपाली कांग्रेस, ७८ सिट भएको नेकपा एमालेले सरकारको नेतृत्व नगरेर तेस्रो ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

कांग्रेस र एमालेमध्ये एउटाले सरकारको नेतृत्व गरेर मिलेर जानुपर्ने अवस्था हो । तर, कांंग्रेस र एमाले नमिलेर तेस्रो दल माओवादीलाई उचालेका छन् । (हाँस्दै) घरी कांग्रेसले बोक्ने, घरी एमालेले बोक्ने भनेपछि त विकृति, विसंगति त ठूलै दलबाट आयो नि ।

अहिलेको अवस्थामा तपाईंले भन्या कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ त ?

कहाँ, हुनु । लोकतान्त्रिक आन्दोलन त संकटमा पर्दै गयो अब कम्युनिस्ट आन्दोलनको रक्षाको कुरा छाडिदिनुस् । कम्युनिस्ट नाममात्रै राखेर हिँडेका नेपालका पार्टीबाट कम्युनिस्ट आन्दोलनको रक्षाको त अब कुरै भएन । कमसेकम २०६२/०६३ सालको आन्दोलनको जुन उपलब्धि छ, गणतन्त्र, लोकतन्त्रको रक्षा गर्न सके ठूलो कुरा हो । वाम आन्दोलनको रक्षा त हुनै सक्दैन । शक्ति राष्ट्रका एजेन्डा बोक्ने,सत्ता र शक्तिको लागि जोसँग पनि घोप्टो पर्नेदलहरू छन् । यस्तो चरित्र त वामचरित्र नै होइन । अहिले जुन राजनीतिक प्रवृत्ति र चरित्र देखिएको छ, यो नेपालको राजनीतिका लागि राम्रो सिनारियो होइन । कांग्रेस, एमाले र माओवादी जो सत्तामा गए पनि जनता त खुसी छैनन् । जसले लोकतन्त्र गणतन्त्र ल्याएका हुन्, उनीहरूकै गतिविधिले गर्दाखेरि जनता आक्रोशित छन्, निराश छन् । त्यसबाट फाइदा उठाएर गणतन्त्र सिध्याउने, लोकतन्त्र नै सिध्याउने अभियान नै चल्या हुनाले अझ चनाखो नहुने हो भने यहाँभन्दा ठूलो दुर्दशा राष्ट्रले भोग्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।

एमालेले राष्ट्रपतिको चुनावसम्म सरकार नछाड्ने निर्णय गरेको छ, यसलाई कसरी बुझ्ने ?
यो कुरा त अब नेकपा एमालेकै नेताहरूलाई सोध्दा राम्रो हुन्छ । किन उहाँहरूले यस्तो गर्नुभयो भनेर । उनीहरूले सबै प्रकारका मानिसहरूलाई जम्मा पारेर पुस १० गते सरकार बनाएकै हुन् । राष्ट्रपतिको चुनावमा भाग लिनेबेलासम्म चुनावमा हामीले जितिहाल्छम् भन्ने पनि लाग्या होला । त्यसकारण सरकारमा बस्ने या छाड्ने भन्ने कुरा एमालेको हो । हामीले बोल्ने कुरा होइन ।

अहिले गरिरहेको राष्ट्रपतिको अभ्यास कति लोकतान्त्रिक र कति ठीक ?
विगतमा हामीले व्यहोरेका राष्ट्रपतिका कारणले अहिले नयाँ राष्ट्रपति बनाउनका लागि यत्रो लुछाचुँडी भएको हो । नेपालको संविधानअनुसार राष्ट्रपति आलंकारिक हो । तर विगतका राष्ट्रपतिले खेलेको भूमिका (तमासा)ले गर्दा नै अहिले सबै दलहरू ‘कम्फर्टेबल’ राष्ट्रपतिको खोजीमा लागेका हुन् । यदि संविधानको मर्म र भावनाअनुसार राष्ट्रपति आलंकारिक भूमिकामा बसेको भए अहिले यत्रो तमासा नै गर्नुपर्ने थिएन । कार्यकारी प्रधानमन्त्रीय पद्धति भएकाले उनको सिफारिस कार्यान्व्यन गर्ने काम मात्रै राष्ट्रपतिको हो ।

राष्ट्रपति संविधानको पालक र संविधानको रक्षक नभएकै कारणले अहिले राष्ट्रपति बनाउनका लागि यो लुछाचुँडी भएको हो । अहिलेको संविधानअनुसार आलंकारिक राष्ट्रपति भए पनि बनाउनका लागि यति ठूलो तमाशा गर्न जरुरी नै थिएन र छैन पनि । राष्ट्रपति आलंकारिक भूमिकामा नबसेर कार्यकारी जसरी प्रस्तुत भएकै कारण नयाँ राष्ट्रपति ‘कम्फर्टेबल’ राष्ट्रपति खोजिएको हो भनेर त मैले संसद्मै पनि भनेको छु ।

त्यसो भए तपाईंहरूले उठाएका रामचन्द्र पौडेल कम्फर्टेबल राष्ट्रपति हो त ?
अहिले त उनी उम्मेदवारमात्रै हुन् । राष्ट्रपति नै भएका छैनन् । अहिले नै कम्फर्टेबल भनेर लेभल लगाउन त मिल्दैन । हिजोका राष्ट्रपतिहरूमा दुई कार्यकाल विद्यादेवी भण्डारी र एक कार्यकाल डा. रामवरण यादवको भूमिकाबारे कुरा गरे हुन्छ । उनीहरू कम्फर्टेबल भएकै कारण आफ्ना मान्छे राष्ट्रपति बनाउन पर्ने रहेछ भन्ने कुरा आएको हो नि । शक्ति केन्द्रहरूले पनि राष्ट्रपति आफू अनुकूलको बनाएर उपयोग गर्न खोजेकै देखिन्छ । विगतमा भएका राष्ट्रपतिले संविधानको पालक र संविधानको रक्षक नभएकै कारणले अहिले यत्रो छिनाझपटी भएको हो नि त ।

नयाँ राष्ट्रपतिका चुनौतीहरू के के हुन् ?

विगतको इतिहासबाट जो राष्ट्रपति भए पनि गम्भीर रूपमा पाठ सिकेर, तटस्थ भएर संविधानको पालक र संविधानको रक्षक बस्नुपर्ने आवश्यकता छ । विगतका राष्ट्रपतिले देखाएको ‘नेगेटिभ’ भूमिका कारण अबको नयाँ राष्ट्रपतिले विगतका जस्तो गल्ती दोहोर्‍याउनु हुँदैन । इमान्दारितापूर्वक संविधानले दिएको अधिकारभन्दा बाहिर जान हुँदैन र संविधानको कडाइपूर्वक पालन गर्नुपर्छ ।

तपाईंहरूले गठबन्धनले राष्ट्रपति कांग्रेसलाई समर्थन गर्दा अरू ‘पावर सेयरिङ’ कसरी भएको छ ?
अरू पावर सेयरिङको कुरा केही पनि भएको छैन । शुक्रबार भएको सहमतिअनुसार राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने मात्रै कुरा भएको हो । पावर सेयरिङलगायतका कुराहरूका बैठकमा म पनि छैन । ठूलो पार्टीको नाताले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने कुरा भएको हो । अरू मोलमोलाइ त भइराख्या होलान् तर म त्यस्तो मोलमोलाइमा छैन ।

अहिले आम मतदाताहरू रुष्ट भएका बेला अहिलेको नेतृत्वले गर्नुपर्ने काम के हो ?

विगतमा गरेका गल्तीहरूबाट पाठ सिक्दै र विगतमा सत्ता र शक्तिबाहेक अरू केही पनि होइन भन्ने कुराले गर्दा आम मतदाताहरू पनि रुष्ट भएका हुन् । त्यसैले पुनर्उत्थानवादीहरू पनि  सामेल भए, गणतन्त्र ल्याउँछौं भनेर हिँडेका पनि त्यतै सामेल भए । त्यसो भएको हुनाले हिजोका राष्ट्रप्रमुखले गरेका गल्तीहरू नदोहोर्‍याउने अब हुने राष्ट्रपतिको मुख्य कर्तव्य हो । राजनीतिक पार्टीहरूले पनि कमसेकम यो गणतन्त्र र लोकतन्त्रलाई जोगाउने हो भने अहिलेसम्म गर्दै आएका गतिविधि र चरित्रमा सुधार गरेनन् भने यो २०६२/०६३ सालको उपलब्धि हेर्दा हेर्दै यो गुम्छ । त्यसैले अहिलेसम्मका कुराबाट पाठ सिकेर चनाखो र सतर्क भएर राष्ट्र र जनताको पक्षमा राजनीतिक पार्टीहरूले चिन्तन गर्नुपर्छ र यदि राजनीतिक दलहरू सुध्रिएनन् भने जनताले प्रतिगामी शक्तिहरूलाई साथ दिने खतरा हुन्छ ।

अब राष्ट्रिय जनमोर्चा केमा केन्द्रित हुन्छ, कि सरकारमा सहभागी हुने हो ?
राष्ट्रिय जनमोर्चाबाट एक जना मात्रै सांसद म छु । हामीलाई नेपाली जनताले सरकारमा जाने र सत्ता चलाउने अनुमति नै दिएका छैनन् । त्यसैले सरकारमा जाने कुरा होइन । खबरदारी गर्ने भूमिका संसद्मा निभाउँछौं ।