देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज: सरकारको प्राथमिकतामा को ?

देशान्तर

काठमाडौँ– सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्षमाथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ । गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप नेपाल आएको थियो ।

‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य सुरु भएको पनि बताए । उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए ।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको बताए । उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताए ।

खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन उनले आग्रहसमेत गरे । बिहीबारदेखि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताए । उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टरमात्राका रुपमा लगाउन मिल्ने बताए ।