देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन आयातमा कोटा सिस्टम हटाउन व्यवसायीको माग

देशान्तर

काठमाडौँ– सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरे । उनले सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताए ।

उनले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुने गरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गरे ।

कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको उनले दाबी गरे । उनले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने बताए ।

महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भए पनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकारको समीक्ष हुन जरुरी रहेको बताएको छ ।