काठमाडौँ– दूधको मूल्य बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीहरुले दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ । ’हामीले सचिवलाई प्रतिवेदन दिएका छौं। सचिव ज्यूले मन्त्री ज्यूलाई प्रतिवेदन दिइसक्नु भएको छ,’ उनले भने, ’दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको छ ।’
पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए । उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ ।
प्रतिक्रिया